Logo

युक्रेनमाथि रुसी हमलाको खुलेरै विरोध गर्नेमा नेपाल एकमात्र दक्षिण एशियाली देश, बाँकी कि तटस्थ कि मौन



काठमाडौं, १८ फागुन । रुसले युक्रेनमाथि हमला गरेपछि विश्व नै विभाजित देखिएको छ । कतिपय देशहरुले तटस्थ भूमिका निर्वाह गरेका छन् । यो रुस र युक्रेनबीचको युद्ध भएपनि रुसविरुद्ध अमेरिकासहित पश्चिमा देशहरुको युद्ध जस्तो देखिनथालेको छ । विभिन्न देशहरुले यसमा आफ्नो संलग्नता स्पष्ट पार्न थालेका छन् । अधिकांश तटस्थ भूमिकामा छन् । केही अमेरिकासहित पश्चिमा देशको पक्षमा उभिएका छन् । थोरै देशमात्र रुसको पक्षमा खुलेका छन् ।

अमेरिकासहित यूरोपेली युनीयनका देशहरु रुसविरुद्ध एकढिक्का भएका छन् । बेलायत, अष्ट्रेलिया, जापान अमेरिकाको पक्षमा उभिएका छन् ।
रुसको पक्षमा सिरिया, बेलारुसलगायतका मुलुक देखिएका छन् । चीन पनि रुसको पक्षमा नखुलेपनि उतै ढल्किएको छ । भारत तटस्थ भूमिकामा देखिएको छ । उसले अमेरिका र रुस कुनै देशको पक्षमा आफूलाई उभ्याएको छैन ।

भारतले विज्ञप्ति नै जारी गरेर रुस युक्रेन युद्धमा कतैपनि नरहेको स्पष्ट पारिसकेको छ । भारतका कतिपय सामरिक विषयका जानकार देखि पूर्व सैनिक अधिकारीहरुले युक्रेनले पाकिस्तानलाई हतियार बेचेको भन्दै भारतले आफ्नो रणनीतिक स्वार्थ हेर्नुपर्ने बताइसकेका छन् ।

छिमेकी चीन र भारत रुस युक्रेन युद्धमा कतै पनि नलागेको अवस्थामा रहेपनि नेपाल भने अमेरिकाको पक्षमा देखिएको छ । नेपालले रुसले युक्रेनमाथि गरेको हमलाको विरोध गरेको छ । दक्षिण एशियाली मुलुकहरुमध्ये रुसको कदमविरुद्ध कडा विज्ञप्ति निकाल्ने नेपाल मात्र हो ।

२४ फेब्रअरीमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालले युक्रेनमाथि सैन्य फौजको प्रयोग गर्ने रुसी कदमको खुलेरै विरोध गरेको छ । युक्रेनको डोनेत्स्क र लुहास्न्सको नाम उल्लेख गरी स्वतन्त्र देशको मान्यता प्रदान गरिने युएन चार्टरविरुद्ध भएको उल्लेख गरेको छ ।

बङ्गलादेशले सन्तुलित तरिकाले विज्ञप्ति जारी गर्दै तत्काल सैनिक कारबाही रोक्न आग्रह गरेको छ । २६ फेबू्रअरीमा विज्ञप्ति जारी गर्दै उसले शान्तिपूर्ण समाधान खोज्न भनेको छ ।

श्रीलंकाले पनि रुस युक्रेन युद्धमा कुनै तटस्थ भूमिका देखाएको छ । उसले युक्रेनको हिंसामा गहिरो चासो लिएको भन्दै क्षेत्रीय शान्ति, सुरक्षा र स्थायित्वमा जोड दिएको छ । उसले कूटनीतिक माध्यमले वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेको छ ।

तालिवानी शासन रहेको अफगानिस्तान पनि युक्रेन संकटमा तटस्थ देखिएको छ । अफगानिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी तटस्थ रहेको स्पष्ट पारेको छ । उसले नजिकबाट युक्रेनको घटनालाई नियालिरहेको भन्दै दुवै पक्षलाई संयम अपनाएर वार्ता र शान्तिका माध्यमले समस्या समाधान गर्न भनेको छ ।

मालदिभ्स रुस युक्रेन युद्धमा बोलेको छैन । उसले युक्रेनमा रहेका आफ्ना नागरिकको सुरक्षामा जोड दिएको छ ।

पाकिस्तानले पनि तटस्थ देखाएको छ । उसले रुस र युक्रेन दुवै पक्षसँग कुराकानी गरेर संवादबाट शान्तिपूर्ण निकास निकाल्न भनेको विज्ञप्तिमार्फत् उल्लेख गरेको छ ।

भुटानले आफ्ना नागरिक कोही पनि युक्रेनमा नरहेको स्पष्ट पारेको छ । यसले रुस युक्रेन युद्धबारे केही बोलेको छैन ।

यसरी दक्षिण एशियाका सबै देशले तटस्थ रुपमा आफूलाई प्रस्तुत गरेपनि नेपाल अमेरिकी धारतर्फ देखिएको छ । नेपालको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमै रुसी हमलाको विरोध गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग टेलिफोन संवाद गरेका छन् । अमेरिकी विदेशमन्त्रीले कुराकानीबारे जानकारी दिदै युक्रेनमाथि रुसी आक्रमणबारे कुराकानी केन्द्रित भएको उल्लेख गरेका छन् । युक्रेनको सार्वभौमसत्ता र भौगोलिक एकतामा आफूहरुको साथ रहेकोबारे कुराकानी गरेको भनेका छन् ।

दक्षिण एशियाका ८ देशहरुमध्ये दुईवटा देशले केही बोलेका छैनन् । ५ देश तटस्थ देखिएका छन् । नेपाल मात्र रुसले युक्रेनमाथि गरेको हमलाको खुलेर विरोध गर्नेमध्ये परेको छ । नेपालले अमेरिकी धारमा आफूलाई प्रस्तुत गरेको छ । भारत र पाकिस्तानका नेताहरुले रुस र युक्रेन दुवै देशका नेताहरुसँग कुराकानी गरेका छन् । नेपालले युक्रेन मामलामा अमेरिकासँग सिधै कुरा गरेको छ । नेपालले युक्रेनको पक्षमा आफूलाई प्रस्तुत गरेको अमेरिकी विदेशमन्त्रीले ट्वीटरमार्फत् नै उजागर गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot