Logo

महोत्तरीको सम्सी गाउँपालिकामा राजनीतिक प्रतिशोधका कारण ११ पटक प्रमुख प्रशासकीय अधिकृत फेरिए, सांसद यादवले गलत भूमिका खेलेको आरोप



काठमाडौं, १८ फागुन । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई लिएर राजनीति भएपछि महोत्तरीको सम्सी गाउँपालिका विकास निर्माणका काम ठप्प भएको छ । सुन्दा अचम्म लाग्ला तर सम्सी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई एक महिनापनि नपुग्दै सरुवा गरिएको घट्ना सार्वजनिक भएको छ ।

खासगरी राजनीतिक प्रतिशोधको आधारमा उक्त गाउँपालिकालाई निकम्मा सावित गर्नको लागि केन्द्रीय राजनीतिमा स्थापित नेताहरुले नै हस्तक्षेपकारी भूमिका खेलेर सम्सी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेर्ने काम भएको छ । अहिलेसम्म ११ पटक र विगत तीन महिनामा तीन पटकसम्म प्रमुख प्रशासकीय अधिकृत फेर्ने काम गरेको भनेर सम्सी गाउँपालिकाले केन्द्र सरकारलाई पत्रपनि लेखिसकेको छ ।

गाउँपालिको विकास निर्माणको कामले गति लिनेबित्तिकै त्यसलाई रोक्न र गाउँपालिकाको नेतृत्वलाई नै असक्षम र असफल तुल्याउनको लागि बदनियतपूर्ण काम भएको स्थानीयवासीहरुको गुनासो छ । यस प्रकरणमा जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद डा. सुरेन्द्र प्रसाद यादवको भूमिका रहेको स्रोतको दाबी छ ।

गाउँपालिकाका अध्यक्ष शेष फारुकले यही २०७८ फागुन १५ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निर्णय कार्यान्वयनको लागि पत्रसमेत लेखेको पाईएको छ । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाई २०७८ पुष ५ गते रिट हालेको र उक्त रिटमा सर्वोच्च अदालतले २०७८ पुष ७ गते अन्तरिम आदेश दिएको र सो आदेशअनुसार संघीय मन्त्रालयले २०७८ पुष २३ गते नै उक्त गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गणेशचन्द्र मिश्र (क.सं. नं. २०१५३६) ले २०७८ पुष २९ गते हाजिर भई काम गरेका थिए ।

निजामती नियामावली सेवालाई नै धज्जी उडाउनेगरि एक महिना नपुग्दै प्रमुख प्रशासकीय अधिकृत फेर्दा गाउँपालिकाको कामकारबाहीमा अवरोध सिर्जना भएको छ । गाउँपालिकाले मिश्रलाई नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न दिने र सरुवा नगर्न भनेर केन्द्र सरकारको संघीय मामिला मन्त्रालयलाई स्पष्ट रुपमा भनिसकेको छ । उक्त गाउँपालिकाका जनप्रतिनिधिहरुको विशेष बैठक बसेर प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई सरुवा गरिए मान्य नहुने र उनलाई सरुवा गरेर माथिबाट आउने कर्मचारीलाई हाजिर नगराई फिर्ता पठाउने २०७८ फागुन १४ गतेको निर्णयसमेत समावेश गरेर केन्द्रमा पठाएको थियो ।

तर, केन्द्रमा प्रभाव जमाएर मिश्रलाई सरुवा गरी उनको ठाउँमा सत्यनारायण साहलाई उक्त गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाईएको थियो । उक्त निर्णय कार्यान्वयन नगर्ने गाउँपालिकाको अडान छ । गाउँपालिकाका अध्यक्ष शेष फारुकले हाजिरी नगराई फिर्ता पठाउने व्यहोरा जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot