Logo

चीन, भारतसहित यी देशले किन युक्रेनमाथि रुसको हमलाको विरोध गरेनन् ?



काठमाडौं, १८ फागुन । रुसले युक्रेनमाथि हमला गर्दा सुरक्षापरिषदमा रहेका अमेरिका, बेलायत र फ्रान्ससहित विश्वका धेरै शक्तिशाली मुलुकले विरोध गरे । अमेरिकासहित नाटो सदस्य राष्ट्रहरुले युक्रेनलाई हतियार सहयोग गरेका छन् ।

यूरोपका विकसित मुलुकसहित क्यानडालगायत अधिकांश पश्चिमा देशहरुले रुसको विरोध गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए । उनले पुटिनलाई तानाशाह भने ।

विश्व नै रुसविरुद्ध लागेको जसरी पश्चिमा मिडियाले खबरहरु प्रसारण गरिरहे पनि सुरक्षा परिषदको स्थायी सदस्य राष्ट्र चीन भने तटस्थ छ । उसले रुसको समर्थन पनि गरेको छैन र विरोध पनि गरेको छैन । चीनले रुसको विरोध नगर्नुमा उसको घनिष्ठ सम्बन्ध हो । चीनको रुससँग बलियो सैन्य सम्बन्ध छ । उसले रुसबाट ठूलो परिमाणमा हतियार खरिद गर्दै आएको छ । रुसबाट तेलको ठूलो परिमाण आयात गर्दछ ।

भारत पनि तटस्थ भूमिकामा देखिएको छ । भारतको रुससँग लामो समययता बलियो सैन्य सम्बन्ध छ । भारतले आयात गर्ने हतियारमध्ये आधा रुसको हुनेगरेको तथ्यांक छ । रुसबाट भारतले तेलको समेत आयात गर्दछ । रुसको नजिक रहेको इरानबाट पनि भारतले तेल आयात गर्दछ ।
अमेरिकासँग निकट रहेको इजरायलले पनि रुसको विरोध गरेको छैन । इजरायलको पनि रुससँग घनिष्ठ सम्बन्ध छ । रुसको घनिष्ठ सम्बन्ध रहेको इरान र सिरिया इजरायलको दुश्मन राष्ट्र हो । इजरायल यसकारण पनि रुसलाई चिढ्याउन चाहँदैन ।

पाकिस्तानले पनि रुसको विरोध गरेन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गत हप्ता मस्को पुगेर पुटिनलाई भेटे । रुससँग पाकिस्तानले सम्बन्ध सुधार्न प्रयास गरेको छ । हतियार पनि खरिद गर्न थालेको छ ।

साउदी अरेबियाले पनि रुसी हमलाको विरोध गरेन । साउदी अरेबियाका प्रभावशाली राजकुमार मोहम्मद विन सलमान अमेरिकासहित पश्चिमा देशहरुको पेलाईमा परेपछि रुस र चीनसँग नजिकिए । चीनमा आयोजित ओलम्पिकमा सहभागिता जनाउने विश्वका केही नेताहरुमध्ये उनी पनि थिए । रुस तेल उत्पादक देश भएकाले पनि साउदीको घनिष्ठ सम्बन्ध छ ।

टर्कीले पनि रुसको विरोध गरेन । टर्कीको पनि रुससँग सैन्य सम्बन्ध मजबुत छ । हतियारहरु खरिद गर्दै आएको छ । यूरोपका शक्तिशाली देशहरुमध्ये रुसले युक्रेनमाथि हमला गरेकोमा तटस्थ भूमिकामा रहनेमा टर्की पनि एक हो ।

दक्षिण अफ्रिकाले पनि रुसको विरोध गरेको छैन । उसले युक्रेनमाथिको रुसी हस्तक्षेपबारे संयुक्त राष्ट्रसंघीय विशेष बैठकमा रुसको आलोचना गरेन ।



प्रतिक्रिया दिनुहोस्