Logo

एमसीसी देखि युक्रेन मामलामा देउवाको ‘अमेरिका मोह’



काठमाडौं, १८ फागुन । रुसले युक्रेनमाथि हमला गरेपछि विरोधमा बोल्नेमा अमेरिकासहित पश्चिमा देशहरु अगाडि देखिए । एशियाबाट जापान दक्षिण कोरिया र सिंगापुर विरोधमा बोले । बाँकी देशहरु या त मौन बसे या त तटस्थ ।

ब्राजिल, मेक्सिको, अर्जेन्टिना, दक्षिण अफ्रिका जस्ता शक्तिशाली देशहरु पनि तटस्थ बसे । दक्षिण एशियाका दुई शक्तिशाली मुलुकहरु भारत र पाकिस्तान रुसले युक्रेनमाथि हमला गरेकोमा तटस्थ बसे । बङ्गलादेशले युएन चार्टरको सम्मान गर्न भन्दै युक्रेनको सार्वभौमसत्ता र एकताको सम्मान गर्ने भन्यो । उसले रुसको कदमको विरोध भने गरेन । श्रीलंका र अफगानिस्तानले तटस्थ रहेको भन्दै बोले । भुटान र मालदिभ्स मौन बसे ।

दक्षिण एशियाबाट नेपालले मात्र युक्रेनमाथि रुसको आक्रमणको विरोध गरेर १२ फागुनमा विज्ञप्ति निकाल्यो । विज्ञप्तिमा रुसी कदमको विरोध गर्दै भनिएको छ,‘कुनैपनि परिवेशमा सार्वभौम राष्ट्रविरुद्धको बल प्रयोगको नेपाल विरोध गर्दछ ।’

नेपालको धारणा दक्षिण एशियाका बाँकी देशहरुको भन्दा फरक आयो । अर्थात्, नेपालले मात्र रुसी कदमको खुलेर विरोध गर्यो । यसमा धेरैको चासो बढेको छ । अमेरिका, बेलायतलगायत पश्चिमा देशहरु युक्रेनको पक्षमा खुलेका छन् । उनीहरुले रुसलाई चेतावनी दिइरहेका छन् । युक्रेनको मामलामा नेपाल अमेरिकालगायत पश्चिमा देशहरुको ध्रुवमा देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग १७ फागुनको साँझ टेलिफोन संवादमा पनि युक्रेन मामलामा कुराकानी भएको जनाइएको छ । ब्लिन्केनले ट्वीट गर्दै युक्रेनमाथि रुसी आक्रमणबारे कुराकानी केन्द्रित भएको उल्लेख गरेका छन् । युक्रेनको सार्वभौमसत्ता र भौगोलिक एकतामा आफूहरुको साथ रहेको भनेका छन् । देउवाले यसबाट पनि युक्रेनको पक्षमा आफूलाई उभ्याएको स्पष्ट भएको छ । अहिले विश्व नै युक्रेन मामलामा अमेरिका या रुसको पक्ष या विपक्षमा ध्रुवीकृत भइरहेको छ । अधिकांश देशहरु भने तटस्थ छन् । देउवा भने अमेरिकाको ध्रुवमा उभिएका छन् ।

त्यसो त देउवा प्रधानमन्त्री भएपछि अमेरिकी राजदूत रेन्डी बेरीको सक्रियता बढेको देखिएको छ । अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण पनि विगतभन्दा धेरै भएको छ । एक दिनको फरकमा अमेरिकाका दुई विदेश सहायकमन्त्रीहरु मंसिरको पहिलो हप्ता नेपाल आएका थिए ।

अमेरिकी सहयोगसम्बन्धी एमसीसी अनुमोदनबारे कुरा गर्न फतिमा सुमार भदौमा नेपाल आइन् । एमसीसी उपाध्यक्ष सुमारले देउवालाई भेटेर माहोल तयार गरिन् । त्यसपछि आएका सहायक विदेशमन्त्री डोनाल्ड लू ले वातावरण झन् विकास गरेर गएको घटनाक्रमले खुलाएको छ ।

देउवाले एमसीसीलाई २९ सेप्टेम्बर २०२१ मा प्रचण्डसँग मिलेर एउटा पत्र पठाएको खुलासा भएको थियो । जसमा एमसीसी टुंगो लगाउन पाँच महिनाको समय मागिएको थियो । उक्त पत्रबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रोटोकलको प्रश्न उठाए । भीम रावलले देशकै अपमान भएको भने । अमेरिकाको विकाससम्बन्धी एउटा कार्यालयलाई नेपालका बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले संयुक्त पत्र पठाएको भन्दै प्रश्न उठाइए ।

देउवाले बेलायत भ्रमणबाट फर्किएर विमानस्थलमै पत्र लेखेको खुलासा गरेका थिए । बेलायतमा अमेरिकी राष्ट्रपनि जो वाइडेनलाई भेटेपछि उनी निकै उत्साही थिए । स्वदेश फर्किए आफूलाई अमेरिकाको बलियो साथ रहेको सन्देश दिए ।

देउवाले एमसीसीलाई प्रतिष्ठाको विषय नै बनाए । अमेरिकी सहयोगसम्बन्ध उक्त परियोजना पास गर्न उनले सत्ता गठबन्धन तोड्ने देखि ओलीसँग नयाँ गठबन्धन बनाउने सम्मको डर देखाए । यसबाट त्रसित भएर प्रचण्ड र माधव नेपाल ब्याक भए । एमसीसी अनुमोदन भयो । चीनले एमसीसीलाई रोक्न खोजेको थियो । चेतावनी पनि दिएको थियो । देउवाले सबै चुनौती सामना गरेर एमसीसी पास गर्न भूमिका खेले ।

देउवाले चीनको विरोधका बीच एमसीसी पारित गराउन सके । छिमेकीको विरोधका बीच एमसीसी पारित गर्नुमा उनको साहस मात्र नभई जोखिम पनि मान्न सकिन्छ । एमसीसी पारित भएपछि उत्साही देउवाले युक्रेन मामलामा सरकारका तर्फबाट बोल्न लगाउने देखि आफै अमेरिकी अधिकारीसँगको कुराकानीमा बोल्न पुगे । अधिकांश पश्चिमा देशहरु अमेरिकाको धारमा रहेर युक्रेनको पक्षमा उभिए । एशियामा जापान, सिंगापुर र दक्षिण कोरिया मात्र युक्रेनको पक्षमा खुले । बाँकी एशियाली देशहरु त्यसमा पनि छिमेकी चीन र भारत तटस्थ बस्दा नेपाललाई युक्रेनको पक्षमा उभ्याए ।

देउवाले यसरी अमेरिका मोह प्रस्तुत गरे । एमसीसी देखि युक्रेन घटनामा उनका ‘अमेरिका मोह’ उजागर भयो ।

देउवा प्रधानमन्त्री भएपछि अमेरिकी सक्रियता र नेपालको भूमिका
-२४ भदौमा एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपालको ४ दिने भ्रमणमा
-२५ भदौमा फतिमाद्वारा प्रधानमन्त्री देउवासँग भेटवार्ता
-१५ कात्तिकमा प्रधानमन्त्री देउवा र अमेरिकी राष्ट्रपति वाइडेनबीच ग्लास्गोमा भेटवार्ता
-१८ कात्तिकमा एमसीसी पास गर्न प्रचण्ड र आफूले एमसीसीलाई संयुक्त पत्र पठाएको देउवाको खुलासा
-१ मंसिरमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूद्वारा नेपाल भ्रमण
-२ मंसिरमा लूद्वारा प्रधानमन्त्री देउवासँग भेटवार्ता
-२ मंसिरमा अमेरिकी सहायक विदेशमन्त्री केल्ली किडेरलिङद्वारा नेपाल भ्रमण
-१२ फागुनमा रुसले युक्रेनमाथि हमला गरेपछि नेपालद्वारा विरोध
-१५ फागुनमा एमसीसी प्रतिनिधि सभाबाट ध्वनी मतद्वारा बहुमतले अनुमोदन
-१७ फागुनमा देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन संवाद
-१७ फागुनमा एमसीसी मुख्यालयद्वारा एमसीसी कार्यान्वयनमा दिशातर्फ गएको जानकारी

File Photo



प्रतिक्रिया दिनुहोस्