Logo

रुसले परमाणु बमको प्रयोग हुनसक्ने तेस्रो विश्वयुद्धको खतरा औल्यायो



एजेन्सी, १८ फागुन । रुसले तेस्रो विश्व युद्धको खतरा औल्याएको छ । रुसी विदेशमन्त्री सेरगेइ लाभरोभले बुधबार यस्तो खतरा औल्याएका हुन् ।

लाभरोभले तेस्रो विश्व युद्ध भएमा परमाणु हतियारको प्रयोग हुनसक्ने भन्दै विध्वं मच्चिने बताएको समाचार एजेन्सी आरआइएसले उल्लेख गरेको छ । उनले युक्रेनले आणविक हतियार हासिल गर्न खोजेको टिप्पणी गरे ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियारसम्बन्धी फौजलाई उच्च सतर्कतामा राख्ने आदेश दिइसकेका छन् । उनले रुसको सुरक्षाका लागि परमाणु हतियार समेतको प्रयोग गर्न सक्ने चेतावनी दिइसकेका छन् ।

रुससँग विश्वमा सबैभन्दा बढी र शक्तिशाली परमाणु हतियार रहेको विभिन्न अध्ययनहरुले जनाएका छन् । अहिलेसम्म परीक्षण भइसकेकामध्ये रुसले सन् १९६१ मा गरेको परमाणु परीक्षण ठूलो हो । यसकारण विश्वमा नयाँ सन्त्रास छाएको छ ।



प्रतिक्रिया दिनुहोस्