काठमाडौं, १९ फागुन । सदनबाट अमेरिकी सहयोगसम्बन्धी एमसीसी कार्यान्वयन चरणमा जाने भएपनि विरोधी समूह नयाँ रणनीतिका साथ अगाडि बढ्न थालेका छन् । उनीहरुले एमसीसी मात्र नभई अमेरिकाविरोधी गतिविधि नै चलाउन थालेका छन् ।
एमसीसीको विरोधमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव समूहले विरोधका विभिन्न कार्यक्रम गर्दै आएको छ । उसले दुईपटक बन्द समेत गरेको छ । विप्लवसहित पूर्वमाओवादीका मोहन वैद्य किरण, सीपी गजुरेललगायतको मोर्चा पनि एमसीसीको विरोधमा सक्रिय भएको छ ।
विप्लवले एमसीसी विरोधी समूहको मोर्चाबन्दी बनाउने प्रयास थालेका छन् । उनले माओवादीभित्रका एमसीसीविरोधी समूहका नेता नारायणकाजी श्रेष्ठलाई यसै हप्ता भेटेका छन् । भेटमा मोर्चा बनाएर मिलेर जानेबारे छलफल भएको बुझिएको छ ।
विप्लवले आजै नेकपा एमालेका नेता भीम रावलसँग भेटेका छन् । रावल एमसीसीको विरोधमा उत्रदै आएका छन् ।
एमसीसीविरोधी राष्ट्रिय जनमोर्चा, नेमकिपालगायतसँग पनि विप्लवले कुराकानी बढाएको बुझिएको छ ।
एमसीसीविरोधीहरु मोर्चाबन्दी गर्न थालेपछि राष्ट्रिय राजनीति तरंगित हुन थालेको छ । सत्ता गठबन्धनमा पनि यसबारे छलफल चलेको छ ।
भविष्यमा अमेरिकी परियोजनालाई तारो बनाउने र अवरोध पुर्याउने खालका गतिविधि समेत गर्ने गरी एमसीसी विरोधी अगाडि बढ्न थालेका छन् । उनीहरु योजनावद्ध तरिकाले लागिसकेको बुझिएको छ ।