Logo

युक्रेनलाई यसरी चारैतिरबाट घेर्दै कब्जा गर्न रुस बढ्यो



एजेन्सी, १९ फागुन । रुसले युक्रेनमाथि ७ दिनमा कब्जा गरी जितको घोषणा गर्ने लक्ष्य लिएपनि पूरा हुन सकेको छैन । यसअघि रुसका एकजना पूर्व अधिकारीले त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनले ७ दिनमा कब्जा गर्ने लक्ष्य लिएको बताएका थिए । तर, युद्ध ८ दिन भइसकेको छ ।

रुससम्बन्धी अध्ययन गरेका सामरिक मामलाका जानकारहरु भने पुटिनले योजनावद्ध तरिकाले नै लक्ष्यमा बढिरहेको बताइरहेका छन् । उनले युक्रेनभित्र छिरेर चारैतिरबाट घेरेका छन् । सामरिक महत्वका शहरहरु कब्जा गरेका छन् ।
पुटिनले सुरुमा युक्रेनको समिा नजिक झण्डै २ लाख सेना राखेका थिए । उनले पूर्वतर्फका दुई राज्यलाई स्वतन्त्र घोषणा गरेर सेनालाई प्रवेश गर्न निर्देशन दिए । त्यसपछि १२ फागुनमा युक्रेनमाथि आक्रमणको निर्देशन दिए ।

रुसी सेना डोनेत्स्क र लुहान्स्कमा पस्यो । राजधानी किभमा विस्तारै बढ्यो । सन् २०१४ मै सामरिक महत्वको क्रिमियामा रुसले कब्जा जमाइसकेको थियो ।

खार्किभ शहरमाथि नियन्त्रण बनायो । दक्षिणतर्फको खेर्सोनमाथि पनि नियन्त्रण बनायो । दक्षिणतर्फको शहरहरु नियन्त्रण बनाएर समुन्द्रबाट युक्रेनी सैनिकको सम्पर्क विच्छेद गर्न लाग्यो । रुसी सीमा नजिकको समुन्द्री तटको मरिओपोल पनि नियन्त्रणमा गएको छ । रुसी सेना समुन्द्री किनारको अर्को शहर ओडेसा नियन्त्रण गर्न बढेको छ ।

यसरी ब्ल्याक सीसँग युक्रेनी सैनिकको पहुँच अन्त गर्ने रणनीतिका साथ रुस लागेको छ । चारैतिरबाट घेरेर उसले राजधानी किभलाई नियन्त्रणमा लिन खोजिरहेको छ । त्यहाँ सयौं रुसी सैन्य सवारीको लस्कर छ । कतिपय शहरभित्र पसेका छन् ।

रुसले युक्रेनी सर्वसाधारणलाई किभ छाड्न भनिसकेको छ । उसको त्यहाँ ठूलै सैन्य हमलाको योजना देखिन्छ ।

यसैगरी, आज रुसी राष्ट्रपति पुटिन र फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनबीच ९० मिनेट टेलिफोन वार्ता भएको छ । पुटिनले आफ्नो उद्देश्य युक्रेनलाई सैन्यविहिन बनाउने रहेको बताएका छन् । युक्रेनले जति सम्झौतामा ढिलाई गर्यो उति नै आफूहरुको माग बढ्ने समेत पुटिनले बताएको बुझिएको छ ।

आजै रुसी विदेशमन्त्री सेरगेइ लाभरोभले रुसी र विदेशी मिडियासँगको अन्तवार्ताहरुमा तेस्रो विश्वयुद्ध परमाणु हतियारको प्रयोगसहित हुने बताए ।

उनले परमाणु हतियारको विचार पश्चिमा शासकहरुको टाउकोमा घुमिरहेको समेत तर्क गरे । उनले अमेरिकाले नेपोलियन र हिटलरको शैलीमा यूरोपमाथि नियन्त्रण बनाएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot