Logo

एमसीसीविरुद्ध साना वामपन्थी दल आन्दोलनमा



काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि साना कम्युनिस्ट पार्टी संयुक्त आन्दोलनमा उत्रेका छन् । उनीहरूले एमसीसीविरुद्ध शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन तथा आमसभा गर्दै छन् ।

एमसीसीको खारेजीको माग गर्दै साना आठ वामपन्थी दल आन्दोलनका चरणबद्ध कार्यक्रम सार्वजनिक गरेका छन् । साना वामपन्थी दलको एमसीसीविरुद्धको आन्दोलनमा ठूला वामपन्थी दलका असन्तुष्ट नेताहरूको समेत समर्थन रहेको छ ।

एमसीसी पारित गर्न पाँच दलीय गठबन्धनमा सहमति गरेपछि ठूला वामपन्थी दलका शीर्ष नेता असन्तुष्ट छन् । उनीहरूले साना वामपन्थी दलद्वारा हुने आन्दोलनमा समर्थन गरेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहनवैद्य किरण महासचिव रहेको नेकपा (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र कर्णजित बुढाथोकी सुशील नेतृत्वको नेकपा (माओवादी समाजवादी)ले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै छन् ।

एमसीसी सम्झौताविरुद्धको आन्दोलनमा सहभागी हुन विप्लव नेतृत्वको नेकपाले छलफलसमेत थालेको छ । विप्लव नेतृत्वको नेकपाका नेता एवं प्रवक्ता खडगबहादुर विश्वकर्माले एमसीसीविरुद्धको आन्दोलन तथा राजनीतिक ध्रुवीकरण छलफल भइरहेको जनाएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot