काठमाडौं, फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक केहिबेरमा बस्ने तयारीमा छ । अहिले बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा सुरु हुने बैठकमा साङ्गठनिक एवं समसामयिक राजनीतिका विषयमा छलफल हुने जनाइएको छ ।
तर, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठपक्षले भने अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेसनको निर्णय उल्टाएकाले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ ।
गत पुस १३–१९ मा सम्पन्न महाधिवेशनले ‘संशोधन र परिमार्जन बिना’ एमसीसी अनुमोदन गराउने निर्णय गरेको तर अचानक अध्यक्ष प्रचण्डले ‘व्याख्यात्मक घोषणा’को भरमा अनुमोदन गराउन निर्देशन दिएपछि श्रेष्ठ पक्षले सोही विषयलाई छलफलको प्राथमिकतामा राख्नुपर्ने माग राखेका छन् ।
अध्यक्षले महाधिवेशनको निर्णयविपरीत एमसीसीको पक्षमा किन उभिएका हुन भन्ने बारेमा चित्त बुझ्दो प्रस्टीकरण नदिए श्रेष्ठ आफ्नो लिखित रुपमा अघि बढ्ने तयारीमा रहेका छन् ।