Logo

प्रहरी हौं भन्दै फार्मेसीबाट धनमाल लुटपाट गर्ने ८ जना पक्राउ



काठमाडौं, २० फागुन । धनमाल लुटपाटमा संलग्न ८ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित समृध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं एयरपोर्ट बस्ने जुम्ला गुठीचौर गाउँपालिका–५ ठेगाना भएका २६ वर्षीय देबी प्रसाद धिताल, काठमाडौं स्वयंभू बस्ने धादिङ धुनबेशी नगरपालिका–३ ठेगाना भएका ३० वर्षीय शंकर रेग्मी, काठमाडौं सानोभर्‍याङ बस्ने डडेलधुरा महाकाली नगरपालिका–२ ठेगाना भएका २८ वर्षीय हिक्मत महता, काठमाडौं चक्रपथ बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–४ झलारी ठेगाना भएका २७ वर्षीय सुबाष रतोकी, काठमाडौं मित्रनगर बस्ने कञ्चनपुर शक्लाफाँटा नगरपालिका–२ झलारी ठेगाना भएका ३४ वर्षीय मिलन बोहरा, मित्रनगर बस्ने पाँचथर याङ्गक गाउँपालिका–८ च्याङ्थापु बस्ने ३२ वर्षीय लिम्बु भन्ने भविन्द्र बेगा, मित्रनगर बस्ने दैलेख नौमुले गाउँपालिका–५ सल्लेरी ठेगाना भएका २७ वर्षीय जिवन भन्ने योगेन्द्र बहादुर चन्द र काठमाडौं सामाखुसी बस्ने प्युठान गौमुखी गाउँपालिका–६ ठेगाना भएका २१ वर्षीय भिटेन, संगित थापा भन्ने कमल सुनार रहेका छन् ।

उक्त फार्मेसीका संचालकलाई हामी प्रहरी हौं, तपाईँको पसलमा अबैध औषधि बिक्री बितरण गर्ने गरेको छ भन्ने सूचना आएकाले हामी खानतलासी गर्न आएका हौं भनि फागुन १२ गते साँझ नियन्त्रणमा लिई पसलको काउन्टरमा भएको नगद, १ थान मोबाइल, १ थान घडी, ई–सेवामा पठाएको नगद ११ हजार ७ सय रुपैयाँ र स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको खातामा रहेको नगद ३ हजार ५ सय रुपैयाँ गरी जम्मा ६५ हजार रुपैयाँ जबरजस्ती लुटपाट गरी फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ११ थान मोबाइल, १ थान घडी, १ थान नागरिकता प्रमाणपत्र, ५ थान एटिएम कार्ड र २ थान बैंक चेक बरामद गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot