Logo

रुस-युक्रेन युद्धः विश्वको आधाभन्दा बढी जनसंख्याको हिस्सा ओगट्ने यी देशहरु तटस्थ



एजेन्सी, २० फागुन । रुसले युक्रेनमाथि हमला गरेपछि विश्वका कतिपय देशले विज्ञप्ति निकालेर विरोध गरेका छन् भने कतिपयले युक्रेनलाई खुलेरै साथ दिइरहेका छन् । कतिपय देश तटस्थ भूमिकामा छन् ।

संयुक्त राष्ट्रसंघको १९ फागुनमा बोलाएको विशेष महासभामा १४१ देशले रुसी हमलाको विरोध गरी सेना फिर्ताका लागि टेबल प्रस्तावको पक्षमा मतदान गरे । रुससहित ५ देशले विपक्षमा मतदान गरे । ३५ देश तटस्थ बसे भने १२ देशले मतदानमा सहभागिता जनाएनन् ।

युक्रेनविरुद्धको हमलामा रुसको विपक्षमा मतदान गर्ने देशहरुको संख्या बहुमत भएपनि जनसंख्याका दृष्टिले ती देशहरुले विश्वको आधाभन्दा कम हिस्सा ओगट्छन् । विश्वको आधा भन्दा बढी जनसंख्याको हिस्सा ओगट्ने देशहरु भने तटस्थ भूमिकामा नै रहे ।

चीन र भारत तटस्थ बसे । यी दुई देशको जनसंख्या २ अर्ब ७८ करोड हुन्छ । धेरै जनसंख्या भएका पाकिस्तान र बङ्गलादेश पनि तटस्थ बसे । यी दुई देशको जनसंख्या जोड्दा ३८ करोडभन्दा बढी हुन्छ । यसरी विश्वको कुल ७ अर्ब ९० करोड जनसंख्या भएकोमा आधाभन्दा बढी जनसंख्याको हिस्सा ओगट्ने देशहरु युक्रेनविरुद्ध रुसी हमलामा तटस्थ बसेका छन् ।

कंगोको १० करोड, दक्षिण अफ्रिकाको झण्डै ६ करोड, इराकको ४ करोड, भियतनामको झण्डै १० करोड, इरानको ९ करोड, श्रीलंकाको २ करोड, जिम्बाबेको डेढ करोड, तान्जानिया भण्डै ६ करोड, सुडानको ४ करोडजनसंख्या छ । यी देशहरु पनि तटस्थ भूमिकामा रहे ।

युक्रेनविरुद्ध रुसी हमलामा तटस्थ बस्ने देशहरु
अल्जिेरिया, अंगोला, आर्मेनिया, बङ्गलादेश, बोलिभिया, बुरुन्डी, सेन्ट्रल अफ्रिकन रिपब्लिक, चीन, कंगो, क्युबा, यल साल्भाडोर, इक्वेटरियल गिनी, भारत, इरान, इराक, काजिकिस्तान, किर्गिजस्तान, लाओस, माडागास्कर, माली, मंगोलिया, मोजाम्बिक, नामिबिया, निकारागुवा, पाकिस्तान, सेनेगल, दक्षिण अफ्रिका, दक्षिण सुडान, श्रीलंका, सुडान, तालिकिस्तान, तान्जानिया, युगान्डा, भियतनाम र जिम्बाबे ।



प्रतिक्रिया दिनुहोस्