Logo

कर्णाली कोरिडोरको भौतिक प्रगतिः एक दशकमा २७ प्रतिशत



काठमाडौं, फागुन २१ । सरकारको प्राथमिकताको आयोजनामा रहेको कर्णाली कोरिडोरको करिब एक दशकमा भौतिक प्रगति २७ प्रतिशत मात्र रहेको छ ।

आर्थिक वर्ष २०६९–७० देखि सुरु भएको आयोजनाको आर्थिक वर्ष २०७९–८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, हालसम्म २७ प्रतिशत मात्रै निर्माण गरिएकाले तोकिएको अवधिमा निर्माण सम्पन्न हुन नसक्ने निश्चितजस्तै देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू नै अहिलेको प्रगतिको आधारमा तोकिएको समयमा निर्माण सम्पन्न गर्न कठिन रहेको स्वीकार गर्छन् ।

‘निर्माणका लागि भूगोल पनि अप्ठ्यारो रहेको र बीचको समयमा भूकम्प, नाकाबन्दी, कोरोना, लकडाउनजस्ता बाधा व्यवधानले पनि निर्माणमा अवरोध पुगेको हो, त्यहीँ पनि अपेक्षा गरेअनुसार निर्माण हुन सकेन,’ मन्त्रालयका एक अधिकारी भन्छन् ।

कर्णाली कोरिडोरअन्तर्गत नेपाली सेनाबाहेकको १ सय ४५ किमी (हिल्सा सिमिकोट सकडखण्ड ९५ किलोमिटर तथा सिमिकोट–सलिसल्ला सडक खण्ड–५०) सडक ट्र्याक निर्माण र त्यस सडकखण्डमा चारवटा पुलको निर्माण गर्ने लक्ष्य सरकारको छ ।

सरकारले आयोजनाको निर्माणका लागि ४ दशमलव १० अर्ब लागत विनियोजन गरेर काम गर्दै आएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्