Logo

रुस-युक्रेन युद्धः के के हुँदैछ ?



एजेन्सी, २१ फागुन । रुस र युक्रेनबीचको युद्धको दशौं दिन पुगेको छ । हालसम्म दुवैतर्फ ठूलो क्षति भइसकेको छ । रुसले ५ सय सैनिकको मृत्युको पुष्टि गरेको छ । युक्रेनले २ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको मात्र खुलाएको छ । उसले ९ हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ ।

रुसले युक्रेनका मुख्य शहरहरु नियन्त्रणमा लिइसकेको छ । राजधानी किभमा नियन्त्रण बनाउन प्रयास गरिरहेको छ ।

रुसमाथि अमेरिका, यूरोपेली युनियनसहित नाटो देशहरुले आर्थिक प्रतिबन्धहरु लगाएका छन् । उनीहरुमध्ये कतिपयले सैन्य सहायता दिइरहेका छन् ।

युक्रेनले आफ्नो देशलाई हवाई निषेध क्षेत्र घोषणा गर्न माग गरिरहेको छ । तर, अमेरिकासहित नाटो देशहरुले मानेका छैनन् । त्यसो गर्दा रुससँग प्रत्यक्ष युद्ध गर्नुपर्ने अमेरिकी भनाई छ ।

रुसले आफ्नो देशमा फेसबुक र ट्वीटरलाई प्रतिबन्ध लगाएको छ । दुवै देश एक अर्कामाथि प्रतिबन्ध लगाउने प्रतिष्पर्धामा छन् ।

युक्रेनस्थित यूरोपको सबैभन्दा ठूलो परमाणु प्लान्टलाई रुसले नियन्त्रणमा लिएको छ । जाभोरिजजिया प्लान्ट नियन्त्रणमा लिने क्रममा धेरै मारिएको युक्रेनले बताएको छ ।

रुसले कतिपय समाचार साइटमाथि कडाई गरेको छ । झूटा समाचार प्रसारण गर्नेलाई जेल हाल्ने गरी नयाँ कानून बनाइएको छ । यसले धेरै पत्रकार तथा समाचार संस्थाहरुले काम बन्द गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न चौतर्फी दबाब बढिरहेको छ । तर, उनी पछि हट्ने पक्षमा देखिदैनन् । पुटिनसँग कुरा गरेका फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोनले पुटिन निकै प्रतिवद्ध भएर लागेको बताइसकेका छन् ।

रुसको पछिल्लो कदमले १२ लाख भन्दा बढी सीमा क्षेत्रमा शरणार्थी बनेर गएका छन् । त्यहाँ ठूलो संकट आउने खतरा बढेको छ । यूरोप युद्धको खतरामा परेको छ ।

यसैगरी, युक्रेनमाथि रुसी हमलाले विश्व बजारमा तेलको मूल्य आकाशिएको छ । इन्धनको मूल्य सँगै खाने तेल गहुँलगायत उपभोग्य सामाग्रीको मूल्य वृद्धि भएको छ ।



प्रतिक्रिया दिनुहोस्