Logo

१२ बुँदे व्याख्यात्मक घोषणामार्फत एमसीसीमा राष्ट्रघात हुनबाट बचाएको प्रचण्डले नै हो  : हिमाल शर्मा



काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले आफ्नो पार्टीले १२ बुँदे व्याख्यात्मक घोषणामार्फत पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीमा राष्ट्रघात हुनबाट बचाएको जिकिर गरेका छन् ।
प्राइम टाइम्स एचडीबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भने, “महाधिवेशनको लाइन परिमार्जन सहित पास गर्ने भन्ने थियो । पार्टी अध्यक्ष प्रचण्डले पनि एमसीसी जस्ताको तस्तै पास नहोस् भन्ने नै चाहनुभएको थियो । तर, फेल गराउने गणित हामीसँग थिएन । त्यस अवस्थामा व्याख्यात्मक घोषणा गरेर हामीले नेपालको शिर ठाडो पारी यी बुँदा मान्छौं, यी बुँदा मान्दैनौं भनेर हाइसाउन्डिङ गरेका छौं । एमसीसीमा माओवादीले जित्यो भन्ने होइन । तर राष्ट्रघातबाट बचाएको त प्रचण्डले होइन र ? के हामी चोरलाई साँचो दिएर खेततिर घाँस काट्न जान हुन्थ्यो त ?”
१२ बुँदे व्याख्यात्मक घोषणा साबुन पानीको फोका नभएको उनले दाबी गरे । शर्माले थपे, “हाम्रो कारण एमससी फेल नहुने भएपछि हामीले १२ बुँदेको विकल्प रोज्यौं र नेपालको इज्जत जोगायौं । एमसीसी जस्ताको तस्तै पास हुन पाएन । १२ बुँदे व्याख्यात्मक घोषणा साबुन पानीको फोका होइन किनभने यो सार्वभौम सपन्न संसद्बाट पास भएको कुरा हो । सबैलाई थाहा छ, कांग्रेस र एमाले हुबहु पास गर्न तयार थिए । केपी ओली त एमसीसीमा निधारले पनि छाप हान्ने भन्नुभएको थियो ।”
नेत्रविक्रम चन्द (विप्लव) ले खुलामञ्चको विरोध सभामा नगएर नारायणकाजी श्रेष्ठ पार्टी एकता बचाउन लागिपरेको पनि उनको जिकिर छ । शर्माले भने, “उहाँ हाम्रो पार्टीमा प्रचण्डपछिको दोस्रो नेता हो । उहाँले केन्द्रीय समितिको बैठकमा पार्टी छाडेर गए पनि हुन्छ भन्दा चित्त दुःख्यो तर पार्टी फुटाउन लाग्दिन भन्नुभयो । उहाँलाई विप्लवले खुलामञ्चको विरोध सभामा आउनोस् भन्नुभएको थियो । तर उहाँ पार्टी एकताको निम्ति जानुभएन ।”

पार्टीको पदाधिकारीमा सहमति नभए प्रतिस्पर्धामा जानुपर्ने नेता शर्माको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot