Logo

चक्रपथभित्र पाँच सय ‘फायर हाइड्रेन्ट’



काठमाडौं, फागुन २२ । राजधानीमा बढ्दै गएको आगलागी जोखिमलाई दृष्टिगत गर्दै उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिने भएको छ ।

दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई ‘फायर हाइड्रेन्ट’ भनिन्छ । मेलम्ची आयोजनाले पानी वितरणका लागि पाइप जडान भइसकेका क्षेत्रमा अहिलेसम्म २५० स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान गरिसकेको छ ।

बाँकी क्षेत्रमा सो प्रविधि जडान गर्ने स्थानसमेत पहिचान भई काम अगाडि बढाइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सहरी क्षेत्रमा आगलागी जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि ‘फायर हाइड्रेन्ट’ प्रविधि अन्तर्राष्ट्रिय रूपमै प्रभावकारी मानिन्छ ।

घना बस्ती र आवादीका कारण आगलागी जोखिम बढ्दै गएको राजधानीमा मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवीप्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याउन लागिएको हो ।

थप माग र आवश्यकताका आधारमा अरू ठाउँमा ‘फायर हाइड्रेन्ट’ जडान गरिनेछन् । मेलम्चीको पाइपलाइन जडान हुने ठाउँको प्रत्येक पाँच–पाँच सय मिटरको दूरीमा ‘फायर हाइड्रेन्ट’ राख्ने लक्ष्य रहेकोे छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्