Logo

ओली चुनावका लागि किन ढुक्क ?



काठमाडौं, २२ फागुन । प्रधानमन्त्री पदबाट हट्नु, प्रदेशहरुमा सरकार ढल्नु, सत्ता गठबन्धनले राष्ट्रिय सभा चुनावमा तालमेल गर्दा धक्का लाग्नु । यी घटनाका बाबजुद नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएका छैनन् । उनी ढुक्कले माओवादी र प्रचण्ड सिद्धिने दाबी गरिरहेका छन् ।

ओलीले प्रचण्डको पार्टी सिद्धिने र माधव नेपालको दल बनि नै नसकेको तर्क गरेका छन् । यी भनाईहरु अर्थपूर्ण छन् ।

ओली स्थानीय चुनाव ३० वैशाखमै हुनुपर्ने पक्षमा छन् । उनी एक्लै सत्ता गठबन्धनसँग चुनावमा भिड्ने बताइरहेका छन् । प्रचण्ड र माधव नेपाल काँग्रेससँग तालमेल गर्न हिस्साको कुरा चलाइरहेका छन् ।

चुनावमा काँग्रेस, माओवादी र नेकपा एसको तालमेल हुन नसक्नेमा पनि ओली ढुक्क छन् । त्यसमाथि पनि नेपाली काँग्रेसको डा. शेखर कोइराला पक्षधरले खुलेरै कम्युनिस्ट पार्टीसँग गठबन्धन नहुने बताइरहेका छन् । तालमेल भएमा केही मुख्य स्थानमा हुन सक्ने घटनाक्रमले देखिएको छ । अर्कोतर्फ, कम्युनिस्टहरु चकनाचुर भएकाले काँग्रेस एक्लै अगाडि बढ्ने तयारीमा छ ।

ओली भने एमाले एक्लै काँग्रेससँग भिड्न सक्ने दाबी गरिरहेका छन् । उनले गठबन्धन बनेर आएपनि एक्लै एमाले चुनाव जित्न सक्षम रहेको बताइरहेका छन् ।

ओली पछिल्लो समय उत्साही हुनुमा एमसीसीको विषय पनि हो । प्रचण्ड र माधव नेपालले सुरुमा घोर विरोध गरे पछि अनुमोदनको पक्षमा उभिएपछि कार्यकर्ता तहमा व्यापक असन्तुष्टि बढेको छ । माओवादीभित्र यो विषयले विवाद चुलिएको छ । यसबाट फाइदा लिन ओली उद्दत भइसकेका छन् ।

३ वर्ष सत्तामा रहनु, राज्यका कतिपय निकायमा आफूनिकटस्थ रहनुले पनि ओली उत्साही छन् । विशेषगरी कर्मचारीतन्त्रमा उनको बलियो पकड छ । संवैधानिक निकायमा आफूनिकटस्थ धेरैलाई नियुक्ति दिलाउन सकेका थिए । अदालतलगायतका निकायमा एमाले निकटहरुको बाहुल्यता छ ।

एमालेको संगठनले पनि ओली उत्साही भएका छन् । माधव नेपालको पक्षमा केही प्रतिशत मात्र कार्यकर्ता गएका छन् । देशभर सञ्जाल रहेको एमालेले नेकपा एसमा गएकाहरुलाई पनि फर्काउन खोजिरहेको छ । चुनावसम्म धेरै फर्कनेमा ओली पक्षधर ढुक्क छन् ।

विशेषगरी, सत्ता गठबन्धन चुनाव अघि नै टुट्न सक्ने या सरकारमा रहेपनि चुनावी गठबन्धन बन्न नसक्ने बुझाई ओलीको छ । प्रचण्डले पनि काँग्रेस चुनावी गठबन्धनका लागि तयार नभए ओलीसँग हात मिलाउने प्रयास गर्न सक्छन् । विगतमा पनि त्यस्तै भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot