Logo

अब ‘अर्ली इलेक्सन’को विकल्प छैनः चन्द्र भण्डारी



काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकका मुद्दाहरुमा सदनमा छलफल र बहस नहुने स्थितिमा ‘अर्ली इलेक्सन’को विकल्प नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भने, “लामो समयदेखि सदन चल्न सकेको छैन । मुलुकका मुद्दाहरुमा छलफल हुन पाएका छैनन् । यस्तो स्थितिमा निर्णय गर्ने थलो भनेको जनता नै हुन् । लोकतन्त्रमा जनताको अभिमत नै निर्णायक हुन्छ । नेपाली कांग्रेसले अर्ली इलेक्सनबारे आधिकारिक निर्णय गरिसकेको छैन । तर यसको विकल्प छैन ।”
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेतको सहमतिमा ‘अर्ली इलेक्सन’मा जान सकिने उनले औंल्याए । भण्डारीले भने, “अहिले हामी नेकपा एमालेका माग सम्बोधन गर्न सक्ने स्थितिमा छैनौं । किनभने १४ सांसदमाथिको कारबाहीको मुद्दा अदालतमा विचाराधीन छ । अदालतमा विचाराधीन मुद्दामा संसद्ले निकास दिन सक्दैन । यस्तो माग राखेर एमाले चुकेको छ । तर सर्वोच्च अदालतले बढी व्याख्या गरेकाले विघटन गरिहाल्न पनि गाह्रो छ । तर आखिरमा निकास त जनताले नै दिने हो । सदनबाट सर्वसम्मत निर्णय गरेमा अर्ली इलेक्सन सम्भव छ ।”
नेपाली कांग्रेस विधान अनुसार स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन नसक्ने उनको जिकिर छ । नेता भण्डारीले थपे, “स्थानीय तहमा केन्द्रले निर्देशन दिन सक्दैन । हाम्रो विधान अनुसार स्थानीय तहको टिकट क्षेत्रीय समितिले दिने हो । गाउँपालिकाको जिल्ला, नगरपालिकाको प्रदेश अनि महानगरपालिको केन्द्रले दिने हो । यसो भन्दैमा आवश्यकता अनुसार गर्न नसकिने पनि होइन । तर अन्य दलसँगको गठबन्धन कांग्रेसलाई फापेको छैन । जहिल्यै अरुसँग मिल्यौं भने हामी कसरी अघि बढ्ने ? पार्टीलाई नै घाटा हुने गठबन्धन किन बोक्ने ?”
रुस र युक्रेन युद्धबाट पाठ सिकेर नेपालले भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने उनले औंल्याए । भण्डारीले जोड दिए, “कूटनीति ढुंगामुढा र गालीगलौज होइन । हामीले सही ठाउँमा सही मान्छे लैजान सकेनौं । त्यसैले कूटनीतिदेखि विकाससम्ममा असफल भयौं । सबैभन्दा खराब मान्छेका भाषण मिडियाले बिहानबिहानै पढ्न थालेपछि देश कसरी बन्छ ऋषिजी ?”



प्रतिक्रिया दिनुहोस्