Logo

आजबाट पार्टीमा एमसीसीबारे विवादको च्याप्टर क्लोज गराउने प्रचण्डको तयारी



काठमाडौं, २२ फागुन । नेकपा (मओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजबाट पार्टीभित्र एमसीसीको विवादको च्याप्टर क्लोज गराउने भएका छन् । पछिल्लो समय माओवादी केन्द्रभित्र एमसीसी पारित भएको विषयमा नेताहरुले लिखित रुपमै असन्तुष्टि पोखिरहेका छन् ।

शुक्रबारबाट जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष दाहालले एमसीसी पारित गराउनुको कारण खुलाएका थिए । तर, त्यही दिन नेता नारायणकाजी श्रेष्ठले नेतृत्वको कडा आलोचना गरेका थिए । बैठक आज २ बजेबाट पूनः सुरु हुँदैछ । तर, त्योभन्दा अघि नै प्रचण्डले असन्तुष्ट नेताहरुसँग छलफल गरेका छन् ।

उनले आज विहानमात्रै केही नेताहरुसँग छलफल गरेर अब एमसीसीबारे धेरै गिजोलिन नहुने र पार्टीको संगठनलाई प्रभावकारी बनाएर स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने धारणा राखेका थिए ।

सुरुमा एमसीसी यथास्थितिमा पारित गर्न नसकिने अडान लिँदै आएका दाहालले अन्तिममा आएर गठबन्धन जोगाउनकै लागि जस्तोको त्यस्तै एमसीसी पास गरेको भन्दै नेताहरुले उनको आलोचना गरिरहेका छन् ।

हुन त उनले व्याख्यात्मक घोषणा पनि जारी भएकोले यसमा आफूहरुको जीत भएको भन्दै अब धेरै चिन्ता र आलोचना गर्न नहुने धारणा राखेका थिए । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने जनाईएको छ ।

माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो । बैठकको कार्यसूची कार्ययोजना निर्माण र संगठन हुनेछ । गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot