Logo

अमेरिका-रुसबीच मिडिया युद्ध



काठमाडौं, २२ फागुन । युक्रेनमाथि रुसले हमला गरेपछि विश्वभर परमाणु युद्धको खतरा बढेको छ । युक्रेनलाई अमेरिका, बेलायतलगायत पश्चिमा देशहरुले साथ दिइरहेका छन् । प्रत्यक्ष युद्धमा सहभागी नभएपनि उनीहरुले हतियार सहयोग गरिरहेका छन् ।

युद्ध ११औं दिनमा पुग्दा अमेरिका र रुसबीच मिडिया युद्ध पनि चलेको छ । अमेरिकाले रुसविरुद्ध प्रोपोगान्डा मच्चाइरहेको रुसी अधिकारीहरुको आरोप छ । जसमध्ये हजारौं रुसी सैनिक मारिएको, रुसले ठूलो क्षति भोगेको, आर्थिक रुपमा जर्जर भइसकेको खबरहरु अमेरिका, बेलायतलगायत देशका मिडियाले प्रसारण गरिरहेका छन् । फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा पनि रुसविरुद्ध प्रोपोगान्डालाई प्राथमिकता दिइएको रुसको आरोप छ ।

रुसले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गरिदिएको छ । अमेरिकी सञ्चारमाध्यम पनि रुसमा प्रतिबन्ध लगाइएको छ । बेलायतको बीबीसी प्रतिबन्ध लगाइएको छ । वेवसाइटपनि खोल्न नमिल्ने बनाइएको छ ।

रुसका निजी मिडियाहरु बन्द हुन थालेका छन् । युद्धबारे गलत सूचना प्रसारण गरे जेल सजाय हुने गरी कानून परिवर्तन गरिएपछि डरका कारण पनि बन्द गराइएका छन् ।

रुसी सञ्चारमाध्यममाथि पनि प्रतिबन्धहरु लगाइएको छ । पश्चिमा देशहरुमा रुसी टेलिभिजन प्रतिबन्ध लगाइएको हो । यूरोपेली यूनीयनका देशहरुले गत हप्ता नै रसिया टुडे र स्पुतनिकलाई प्रतिबन्ध लगाइसकेका छन् ।

पश्चिमा मिडियामा रुसले धक्का खाइरहेको फुटेज र खबरहरु प्रसारण भइरहेका छन् । रुसी मिडियामा भने पश्चिमाविरोधी खबर र युक्रेनमा जित हासिल भइरहेको खबरहरु प्रसारण भइरहेको छ । मिडिया प्रपोगान्डामा बदलिएपछि गलत सूचनाहरु प्रसारण हुन थालेको छ । भ्रमहरु धेरै सृजना हुन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot