Logo

सडक मानवकी सहारा कल्पना भट्ट भन्छिन्, “ऋषि धमला आएको सपना हो कि विपना जस्तो लागिरहेको छ”



काठमाडौं, २२ फागुन । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला हिजो धनगढी उपमहानगरपालिका—७ मा रहेको दृष्टि फाउन्डेसनमा पुग्दा त्यसकी सञ्चालक कल्पना भट्टलाई सपना हो कि विपना हो भनेर पत्याउनै मुस्किल भयो ।

प्रदेश सरकारका कामकारबाहीबारे टेलिभिजन कार्यक्रम बनाउन २१ फागुनमा धनगढी गएका धमलालाई दृष्टि फाउन्डेसनकर्मीले आफ्नो आश्रम देखाउन चाहेको बताए । नभन्दै उनी आफ्नो कार्यक्रम सकेर विमानस्थल फर्कने क्रममा आश्रम पसे । त्यहाँ उनले आधा कट्ठामा बनेको घरका ७ कोठामा ५५ जना बेसहारा महिला र बालबालिका कोच्चिएर बसेको देखे । त्यति मात्र नभएर थप ७ जना स्वयंसेवी पनि त्यहीँ बस्ने सुने ।

आश्रमको बिजोग देखेर पत्रकार धमला निकै भावुक भए । उनले ऋषि-मन थाम्न सकेनन् । उनले ५० हजार रुपियाँ सहयोगको घोषणा मात्र गरेनन्, सहयोगी हातहरु जुटाएर आश्रमको भवन निर्माण गरिदिने वचन पनि दिए ।

घरबाट निकालिएका, मानसिक रोगी, असहाय र बेसहारा ५५ जना महिला तथा बालबालिकालाई सडकबाट उद्धार गरी आश्रय दिइरहेकी कल्पनाले साथीहरुसँग मिलेर दृष्टि फाउन्डेसन खोलेको ५ वर्ष भइसक्यो । त्यतिबेला उनीसहित ११ जना महिलाले जनही १०-१० हजार उठाएर उनीहरु संस्था अगाडि बढाएका थिए ।

समाजसेवी र दानवीरले दिएको मुठीदानका भरमा संस्था चलेको छ । कतिपयले आश्रममा जन्मदिन, वैवाहिक वार्षिकोत्सव, आफ्न्तहरूका पुण्यतिथिमा दान गर्दै आएका छन् ।

कल्पनाको लगनशीलता देखेर धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले आश्रमको घर भाडा तिरिदिएका छन् भने भवन निर्माणका लागि जग्गा व्यवस्था पनि गरिदिएका छन् ।

अधिकांश मानसिक रोगी भएकाले चिच्याउँछन्, कराउँछन्, नाच्छन् । कति रात उनी सुत्नै पाउँदिनन् । उनी भन्छिन्, “मानसिक रोगी महिलाहरुले पटकपटक बलात्कृत हुँदै बच्चा जन्माउन पुगेका छन् । तिनलाई सानो छानोभित्र मीठो निद्रा र एक गाँस खाना जुटाउन लागेकी छु ।”

डडेल्धुराको अमरगढी नगरपालिका-६, दमडामा जन्मेकी कल्पनामा सानै उमेरदेखि समाजसेवाको हुटहुटी थियो । बीएडपछि काठमाडौं पसेकी उनले ‘कोसिस’ नामक संस्थामा काम गरेकी थिइन् । पछि धनगढीमै फाउन्डेसन खोलिन् ।

दृष्टि फाउन्डेसनकी सारथि राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर कल्पना ३५ वर्षीया कल्पना विवाह समेत नगरी समाजसेवामा लागेकी छन् । उनको फाउन्डेसन समाजलाई मानवता पढाउने पाठशाला बन्दै गएको छ ।

कल्पना भन्छिन्, “हामी कसैलाई पनि घरबाट लिँदैनौं । सबैलाई प्रहरीको सहयोग लिएर सडकबाट उद्धार गरेका हौं । प्रायःजसोलाई आफ्नो नाम, घर, ठेगाना थाहा छैन । हामीले छुट्टै नाम दिएका छौं । खुला सडकलाई संसार बनाएर बसेका ४५ जना महिलाको घरपरिवारसँगको सम्पर्कमा छैनन् । कतिपय बलात्कारबाट गर्भवती भएकालाई पनि उद्धार गरेका छौं ।”

उपमहानगरपालिकाले दिएको जग्गामा संस्थाको आफ्नै भवन बनाउने उनको अठोट छ । उनी भन्छिन्, “मेरो काम देखेर सामाजिक सञ्जालबाट धेरै व्यक्तिको फोन आएको छ । कतिपयले घर निर्माण गरिदिने, वाल लगाइदिने, बसेकै घर किन्दिने आश्वासन पनि दिए । तर आशाहरु निराशामा बदलिए । यस पटक ऋषि धमला भगवान्को स्वरुपमा आउनुभएको छ । मलाई सपना हो कि विपना जस्तो लागिरहेको छ ।”

पत्रकार धमलाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र मेयर नृपबहादुर वडसँग पनि कुरा गरेको र सहयोगी हातहरु जुटाउने वचन दिए । उनले भने, “ऋषि धमला जहिले पनि सेवाका लागि हाजिर छ । मैले मुख्यमन्त्री र मेयरलाई पनि भनेको छु । तपाईं ढुक्क हुनोस्, म सधैं तपाईंको साथमा छु । यी नानीबाबुले सपना देख्न सुत्न पाउने अवस्था बन्नेछ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot