Logo

महाभियोग सिफारिस समितिमा बस्दैमा संसद्को विरोध हट्दैनः विशाल भट्टराई



काठमाडौं, २३ फागुन । नेकपा एमालेका नेता विशाल भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव सम्बन्धमा बनेको सिफारिस समितिमा आफ्नो पार्टीका सांसदको सहभागिता स्वाभाविक भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “हामीले संसद्को कारबाहीको विरोध गरे पनि संसदीय समितिमा निरन्तर सहभागी भइरहेकै छौं । सभामुखले महाभियोग सिफारिस समितिका सदस्यको नाम पढेर सुनाउनु पहिलेकै संसदीय समितिमा सहभागिताको निरन्तरता हो ।”
प्रतिनिधिसभामा दुई तिहाइ बहुमत नभईकन ल्याइएको महाभियोग प्रस्तावमा गठबन्धनको षडयन्त्र लुकेको उनको आरोप छ । प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक समेत रहेका भट्टराईले थपे, “गठबन्धनले न्यायालयलाई गिजोल्ने काम गर्यो । प्रतिनिधिसभामा एमाले ९८ सिट भएको ठूलो पार्टी हो । तर हामीसँग कुनै छलफल नगरी छापामार शैलीमा आयो । ठबन्धनसँग दुई तिहाइ नभईकन महाभियोग आएकाले यो न्यायालयलाई सत्ताको प्रतिछाया बनाउने षडयन्त्र अनुरुप आएको हो । त्यसलाई चिर्नका लागि हामीले पार्टीका हेभिवेट नेताहरु पठाएका छौं ।”
महाभियोग सिफारिस समितिमा बस्दामा संसद्मा रहेको विरोध नटह्ने पनि भट्टराईले दाबी गरे । उनले भने, “एमालेले जे विषय राखेर विरोध गरेको हो, त्यो असहमति यथावत् छ । सभामुखसँगको विरोध उही हो । गठबन्धनसँग एमालेको आन्तरिक र बाह्य कुनै पनि सम्झौता भएको छैन । कम्युनिस्ट खोल ओढेका दुइटा पार्टी शेरबहादुर देउवा र केपी ओलीको फोटो देखेर आतंकित भएका मात्र हुन् ।”
उनले अहिले प्रतिनिधिसभाको चुनाव अगाडि ल्याउन र स्थानीय निर्वाचन पर धकेल्न नमिल्ने बताए । उनले थपे, “केपी ओलीले हिजो ताजा निर्वाचनमा जाऊँ भन्दाखेरि छातीमा हामी यहाँ छौं भन्ने पर्चा टाँसेर सडकमा बसेको होइन ? यो प्रतिगमन हो, लोकतन्त्र र संविधान सकियो भनेको होइन ? माधव नेपालले भनेको कुरालाई महत्त्व दिनु आवश्यक छैन । अहिलेको अवस्थामा न संघीय संसद्को चुनावअगाडि ल्याउन मिल्छ, न त स्थानीय तहको चुनाव पर लान मिल्छ ।”



प्रतिक्रिया दिनुहोस्