Logo

“मुलुक एकै दिनमा अफगानिस्तान बन्ने हो र !”



काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका नेता एवं पूर्वराजदूत दीपकुमार उपाध्यायले संसद्को मात्र नभएर नेताहरुको पनि औचित्य सकिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यायले भने, “संसद् नचल्नुमा सत्तापक्ष र विपक्ष दुवै जिम्मेवार छन् । न सरकार, न त संसद् प्रभावकारी रुपमा चलाउन नसक्दा परिणाम निराशाजनक छ । यस्तै स्थिति रहने हो भने संसद्को मात्र होइन, नेताहरुको पनि औचित्य सकिन्छ ।”
उनले अर्ली इलेक्सन हल्ला मात्र भएको बताए । उपाध्यायले भने, “एमसीसी प्रकरणपछि गठबन्धन परिवर्तन भएको भए अर्कै कुरा हुन्थ्यो । विभिन्न कारणले गठबन्धन यथावत् रह्यो । नेताहरुबीच आपसमा विश्वास छैन भने स्थानीय तहको चुनाव अगाडि संसद्को चुनाव हुन सक्दैन । बर्सातमा चुनाव हुन सक्दैन, अन्ततः मंसिरमै हुने हो । यसर्थ अर्ली इलेक्सन हल्लामात्र हुन्छ ।”
एमसीसीमा असहमत पक्षलाई संवादमा ल्याउनु जरुरी रहेको पनि उनले औंल्याए । उपाध्यायले थपे, “एमसीसी बलमिच्याइँ गरेर अनुमोदन त भयो, तर असहमत पक्षलाई राखेर संवाद गरिएको छैन । राष्ट्रिय स्वार्थमा समेत छलफल हुन नसक्नु विडम्बना हो । राष्ट्रिय स्वार्थ त दुइटा हुन सक्दैन नि । हामी मिल्नुपर्छ भन्ने चेतना नेताहरुमा देखिएन । धमिलो पानीमा माछा मार्नेको कमी कहिल्यै हुन्न ।”
तपाईं राजनीतिमा निष्क्रिय हुनुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा उपाध्यायले भने, “तृष्णा भन्ने कुरा विचित्र हुन्छ । घाटमा पनि पदमै जाऊँ भन्ने प्रवृत्ति नेताहरुमा देखिएको छ । म कांग्रेसमै छु । राजनीति गर्न पद चाहिँदैन । पद भएन भने मेरो भूमिका हुँदैन भन्ने होइन । मैले लामो समय किसुनजीसँग संगत गरेँ । आफूप्रति इमानदार बन्नु नै जीवनको रहस्य भन्ने बुझेँ । निर्वाचनमा पनि मै हुनुपर्छ भन्ने छैन । मेरो स्वास्थ्य कस्तो रहन्छ, पार्टीले के भन्छ भन्ने कुरा हो । तर पार्टीमा अहिले पनि महाधिवेशनका क्रममा भाँचिएका र टुटेका मन मिलाउन ठूलो भूमिका जरुरत छ ।”
भारतका लागि राजदूत समेत रहेका उपाध्यायले भारतको पश्चिमाहरुको फड्के किनाराको साक्षीमात्र भएको आरोप पनि लगाए । उनले भने, “नेपालमा भारतको पनि खास भूमिका छैन । अमेरिका वा पश्चिमाको ब्लुप्रिन्ट डिजाइनमा खुफिया प्रमुखको नेपाल भ्रमण भएपछि भारत पनि फड्के किनाराको साक्षी भएको छ । भारतीय कूटनीति पनि मानवीय भएन । समयमा खोप दिएनन्, जीटुजीमा मल दिन आनाकानी भयो । सीमा समस्या यथावत् छ । समस्या पहिचान गर्ने हो भने समाधान पनि छ । तर इच्छाशक्ति हुनुपर्यो नि । भारतले के चाहेको हो, त्यो प्रस्ट रुपमा बुझ्नुपर्यो । नेपालले पनि आफ्नो चाहना र आकांक्षा भन्न सक्नुपर्यो ।”
नेपालको कूटनीतिक असफलता क्रमशः प्रकट भइरहेको पनि उनले बताए । उपाध्यायले भने, “हाम्रो कूटनीतिक विफलता क्रमशः देखिँदै छ । हाम्रा अपरिपक्वताका कारण अमेरिका र चीनको वक्तव्यवाजी भयो । हाम्रो सरकारले केही पनि बोलेन । मुलुक एकै दिनमा अफगानिस्तान बन्ने हो र !”



प्रतिक्रिया दिनुहोस्