काठमाडौं, २३ फागुन । रुस र युक्रेनबीचका युद्धले विश्वका नाम चलेका मिडियाको सामाग्रीमा व्यापक परिवर्तन देखिन थालेको छ । कतिपय मिडिया युद्धको अस्त्रमा परिणत भएका छन् ।
युद्धमा मिडियालाई प्रोपोगान्डाका रुपमा परिणत गर्ने परिपाठी विगतमा पनि भएको थियो । पहिलो र दोस्रो विश्वयुद्धमा बलिया देशहरुले आधा युद्ध मिडियाले नै जितेको चर्चा चल्ने गरेको छ । अहिले रुस र युक्रेनबीचको युद्धमा पनि रुसी र पश्चिमा मिडियाले त्यही शैली अपनाउन थालेका छन् ।
पश्चिमा मिडियाहरुले युक्रेनमा रुस कमजोर भएको, रुसको अर्थतन्त्र संकटमा फसेको जस्ता प्रोपोगान्डा मच्चाइरहेका छन् । त्यसको प्रभाव नेपाली मिडियामा पनि देखिएको छ । कतिपय रुसी मिडिया अमेरिका, यूरोपेली यूनीयनलगायतका देशहरुले प्रतिबन्ध लगाएका छन् ।
रुसले पनि पश्चिमा मिडियाहरुलाई प्रतिबन्ध लगाएको छ । उसले फेसबुक र ट्वीटरमाथि प्रतिबन्ध लगाएको छ । युद्धमा आफूविरुद्ध प्रोपोगान्डा मच्चाउने मिडिया भन्दै कडाई समेत गरेको छ ।
बीबीसी, सीएनएन जस्ता मिडियाले रुसले ठूलो क्षति भोगेको र समस्यामा फसेको खबर प्रसारण गरिरहेका छन् । रुसी मिडियाले त्यसलाई खण्डन गर्दै खबर छापिरहेको छ । फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा पनि रुसविरुद्ध प्रोपोगान्डालाई प्राथमिकता दिइएको रुसको आरोप छ ।
रुसी टेलिभिजन आरटीले युद्धमा सफलता हासिल गरेको प्रोपोगान्डा मच्चाइरहेको छ । उक्त टेलिभिजनमाथि प्रतिबन्ध लगाउनेमा पश्चिमा र ऊनिकट देशहरु रहेका छन् ।
रुसका निजी मिडियाहरु बन्द हुन थालेका छन् । युद्धबारे गलत सूचना प्रसारण गरे जेल सजाय हुने गरी कानून परिवर्तन गरिएपछि डरका कारण पनि बन्द गराइएका छन् ।
यसरी मिडिया नै युद्धको अस्त्रमा परिणत भएका छन् । प्रोपोगान्डाहरु मच्चाइएका छन् ।