काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । आइतबार बस्न नसकेर सारिएको बैठक आज बिहान ११ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
ढकालका अनुसार बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय गरिएको छ । पार्टीको पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो र केन्द्रीय सदस्यहरू मनोनीत गर्नेलगायत एजेन्डा छन् । शुक्रबारदेखि सुरु भएको बैठकमा एमसीसी सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नाराणकाजी श्रेष्ठले धारणा राखेका थिए ।
आजको बैठकमा पदाधिकारी टुंग्याउने नेताहरूको तयारी छ । ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय समितिलाई दिएको छ । आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो ।
२३६ केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।