काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री चक्रपाणि खनालले एमसीसीकै कारण आफ्नो पार्टी नफुट्ने दाबी गरेका छन् । उनले जारी केन्द्रीय कमिटी बैठकमा एमसीसीबारे उठेका मतबारे छलफल हुने सुनाए । तर, यही कारण भने पार्टी विभाजन नहुने उनको दाबी छ ।
उनले उनले एमसीसीलाई लिएर नेताहरुले राख्ने मतलाई पार्टीमा एकदम सम्मान हुने पनि विश्वास दिलाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले माओवादी खिईँदै गएको भनेर भन्न नहुने सुनाए ।
तर, पार्टीभित्र केही कमजोरी भने पक्कैपनि रहेको उनले स्विकारे । उनले संविधानअनुसार पार्टी बनाउँदै गर्दा माओवादी कहीँ न कहीँ चुकेकोजस्तो भने देखिएको सुनाए । उनले अहिले माओवादी साईजमा सानो भएपनि एजेण्डाका हिसाबले यसले देशलाई डोर्याएको दाबी गरे ।
उनले पार्टीलाई परिवर्तन गर्नुपर्छ भन्ने नारायणकाजी श्रेष्ठको प्रस्तावमा आफू सहमत रहेको सुनाए । तर, नेता श्रेष्ठले अहिलेसम्म के परिवर्तन गर्ने भन्ने ठोस प्रस्ताव नल्याएको उनको गुनासो छ ।