Logo

पदाधिकारी चयनमा दाहाल असफल



काठमाडौं, फागुन २४ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो समिति, नेताहरूको जिम्मेवारी बाँडफाँट गर्न असफल भएको छ ।

शुक्रबारदेखि जारी बैठकले यी प्रमुख विषयमा निर्णय नै गर्न सकेन । सहमति जुटाएर निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहालले शनिबार र आइतबार बैठक स्थागित गरेका थिए ।

तर, नेताहरूका बीचमा भएको आन्तरिक छलफलमा समेत सहमति जुट्न नसकेपछि प्रमुख विषयमा निर्णय नै नगरी बैठक स्थगित भएको छ । अब आगामी २० जेठमा बस्ने केन्द्रीय समिति बैठकबाट यी एजेन्डामा छलफल हुनेछ ।

पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँटका साथै एमसीसीलगायतकाका विषयमा २० जेठपछि छलफल हुनेछ । आगामी २० जेठमा यी प्रमुख विषयमा छलफल गरेर निर्णय गरिने माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए । एमसीसीलगायतका विषयमा आएको फरक मतलाई दर्ज गरेर राख्ने र आगामी बैठकमा पार्टीभित्र छलफल गरिने उनले बताए ।

११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशन भएको दुई महिना बितिसक्दा समेत स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने केन्द्रीय समितिको बैठकले गर्न नसकी परधकेल्ने काम भएको छ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन गर्ने माओवादीले विधानमा उल्लेख गरेको छ । तर, यसअघिको बैठकबाट अध्यक्षमा दाहाललाई सर्वसम्मत निर्वाचित गरिएको थियो ।

माओवादी स्रोतका अनुसार अध्यक्ष दाहालका लागि सबैभन्दा बढी जटिल विषय महासचिव कसलाई बनाउने भएको छ । नेता वर्षमान पुन र जनार्दन शर्माले भए सर्वसम्मति नभए निर्वाचनबाटै आफैं महासचिव हुने अडान लिएपछि सहमति जुटन नसकेको स्रोतको दाबी रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot