Logo

रुसी तेलमाथि अमेरिकी प्रतिबन्ध लागे ब्यारलको ३०० डलर पुग्ने, नेपालमा पेट्रोल ३०० नाघ्नसक्ने



एजेन्सी, २४ फागुन । अहिले नेपालमा पेट्रोले प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यो मूल्यले बेच्दा पनि नेपाल आयल निगम घाटामा छ । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य १३० पुग्दा यो स्थिति छ भने ३०० डलर पुगे के होला ?

अमेरिका र रुसबीच यसरी नै टकराव बढ्दै गएमा कच्चा तेलको मूल्य ३०० डलर पुग्ने देखिएको छ । त्यतिबेला नेपालमा पेट्रोलको मूल्य प्रति लिटर ३०० रुपैयाँले नाघ्न सक्छ ।

अमेरिका र यूरोपेली यूनीयनले रुसी तेलमाथि प्रतिबन्ध लगाउने तयारी गरेपछि रुसले ग्याँस रोक्ने चेतावनी दिएको छ । रुसले यूरोपेली यूनीयनका देशहरु जर्मनीलगायतमा ग्याँस रोक्ने चेतावनी दिएको हो । यसले तेल र ग्याँस दुवैको मूल्य ह्वात्तै बढ्ने खतरा बढेको हो ।

रुसको चेतावनीलगत्तै यूरोपमा ग्याँसको मूल्य विगतमा भन्दा १० गुणाले महङ्गिएको छ । आयल प्राइसका अनुसार ग्याँस प्रति बीबीएल १३७ डलर पुगिसकेको छ । यो भनेको कच्चा तेलको मूल्य ६०० डलर पुगे बराबर हो । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य १३० डलरसम्म पुगेको छ । ग्याँसको मूल्य यूरोपमा अहिले कच्चा तेलको मूल्यको अनुपातमा ५ गुणाले महङ्गिएको छ ।

रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले रुसी तेलमाथि प्रतिबन्ध लगाइए विश्व बजारमा ठूलो संकट आउने बताएका छन् । यो भनेको कच्चा तेल प्रति ब्यारल दोब्बरभन्दा बढी भएर ३०० डलर पुग्नु रहेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाले रुसी तेल प्रतिबन्ध लगाउने भनेपनि जर्मनी र नेदरल्यान्डले अस्वीकार गरेका छन् । जर्मनीमा रुसले ग्याँस बन्द गरे ठूलो संकट आउन सक्छ । यूरोपेली यूनीयनका देशहरुले रुसबाट ४० प्रतिशत ग्याँस र ३० प्रतिशत तेल आपूर्ति गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot