Logo

महिला प्रतिनिधित्वलाई नेतृत्वमा बदल्ने बेला आयोः मन्त्री उमा रेग्मी



काठमाडौं, २४ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला प्रतिनिधित्व बढे पनि नेतृत्वमा कमी रहेको बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री रेग्मीले भनिन्, “हामी आज सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै छौं । प्रतिनिधित्वको दृष्टिकोणले विकसित मुलुकको तुलनामा नेपाली महिलाको अवस्था सन्तोषजनक छ । एक तिहाइ महिला प्रतिनिधित्व संघीय संसद्मा भएको छ । स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधित्व छ । राष्ट्रपति समेत महिला हुनुहुन्छ । प्रतिनिधित्वका दृष्टिले राम्रो छ, तर नेतृत्वका दृष्टिकोणले अझै कमी छ ।”
के तपाईं मन्त्री हुँदैमा खुसी हुनुहुन्छ ? नेपालमा अहिलेसम्म महिला प्रधानमन्त्री बनेका छैनन्, ठूला पार्टीका अध्यक्ष बनेका छैनन् भन्ने पत्रकार धमलाको प्रश्नमा मन्त्री रेग्मीले भनिन्, “कोही महिला प्रधानमन्त्री हुँदैमा महिलाको जीवनस्तर आफसेआफ परिवर्तन हुने होइन । त्यसका लागि महिलाको आर्थिक सशक्तिकरण र उद्यमशीलताको विकास हुनु जरुरी हुन्छ । अब महिलाले हरेक ठाउँमा नेतृत्वको दाबी गर्नुपर्ने दिन आएको छ । हामीले कसैले दिएर लिएको होइन, महिला आन्दोलनको प्रतिफल हो । नेतृत्व पुग्नका लागि आरक्षणले मात्र हुँदैन, क्षमता अभिवृद्धि गरेर अगाडि बढ्नुपर्छ ।”
मन्त्री रेग्मीले आउँदो स्थानीय तहको निर्वाचनमा महिलाको प्रमुख नेतृत्व आवश्यक रहेको औंल्याइन् । उनले थपिन्, “प्रतिनिधित्व नभईकन नेतृत्व हुँदैन, अब नेतृत्वका लागि पहल गर्नुपर्छ । ५१ प्रतिशत महिलालाई बाहिर राखेर मुलुकको विकास हुन सक्दैन । अब नीति निर्माण तहको नेतृत्वमा महिलालाई पुर्याउनु जरुरी छ । आउँदो स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुख नेतृत्वमा पुर्याउनु नै त्यसको प्रस्थान बिन्दु हो ।”
उनले ९५ प्रतिशत महिला कुनै न कुनै प्रकारमा हिंसामा रहेको बताइन् । मन्त्री रेग्मीले भनिन्, “महिला घरभित्रै सुरक्षित छैनन् । ९५ प्रतिशत महिला कुनै न कुनै प्रकारमा हिंसामा छन् । समाजमा हत्या, हिंसा र बलात्कारमा कमी आएको छैन । कानुन छ तर कार्यान्वयन फितलो छ । मन्त्री भए पनि मैले भन्नैपर्छ ।”



प्रतिक्रिया दिनुहोस्