Logo

एमसीसी विवादलाई चुनावसम्म ‘होल्ड’ गरेका छौंः लीलामणि पोखरेल



काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले एमसीसी विवादलाई स्थानीय तहको निर्वाचनसम्मका लागि स्थगन गरेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा एमसीसीका बारेमा विभिन्न विचार आएका छन् । अहिले हामीले विवादित विषयलाई स्थानीय तहको निर्वाचनसम्मका लागि होल्ड गरेका छौं । यसको मतलब माओवादी केन्द्र एमसीसीको पक्षमा गयो भन्ने होइन । आआफ्नो विचार आफैंसँग छ । अहिले हामी महान् सफलता पनि भन्दैनौं, विरोध पनि गर्दैनौं ।”
पार्टीको जेठ २० मा बस्ने केन्द्रीय समितिको बैठकपछि यसबारे फेरि छलफल हुने पोखरेलले बताए । उनले भने, “पार्टीभित्र बसेपछि अनुशासन पालना गर्नुपर्छ । निर्वाचनपछि पार्टीको फोरममा विधिपूर्वक बहस, विवाद, अन्तरक्रिया राख्ने भन्ने कुरा आएको छ ।”
पदाधिकारी चयन पनि निर्वाचनसम्मका लागि स्थगन भएको उनले बताए । उनले भने, “हामी भद्दा तरिकाले मतदान गर्ने पक्षमा छैनौं । सहमतीय प्रणालीमै पदाधिकारी लगायत अरु चयन हुन्छ । अहिले हामीले केन्द्रीय समितिलाई पूर्णता दिएर निर्वाचनपछि जेठमा पदाधिकारी चयन गर्ने निर्णय गरेका छौं । स्थानीय तहको निर्वाचनको कार्यक्रम आइसकेकाले पदाधिकारी चयन स्थगन गरेका हौं ।”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot