Logo

पछिल्लो समय प्रचण्डले राजनीतिमा लय समात्नुभएको छ : हरिबोल गजुरेल (भिडिओसहित)



काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावाली नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले पार्टी विभाजनको खतरा टरेको बताएका छन् । एमसीसीको कारण पार्टीभित्र उत्पन्न विवाद पनि हिजोबाट समाधान भएको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै प्रक्रिया पूरा गरेर नै केन्द्रीय सदस्यहरु मनोनित गरिएको स्पष्ट पारे ।

उनले अरु पार्टीभन्दा पनि आफ्नो पार्टीले समावेशी कमिटी बनाएको दाबी गरे । उनले पार्टीभित्र नातावादा र कृपावाद नरहेको जिकिर गरे । बरु, नेताका छोराछोरी पनि राजनीतिमा आउनु त सुखद् पक्ष भएको उनको टिप्पणी छ। नेता गजुरेलल आवश्यक पर्दा आफूहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहालको आलोचना पनि गरेको सुनाए । उनले आफू नेकपाको एकताको पक्षमा नै उभिएको स्मरण गराए । उनले तत्कालिन अध्यक्ष केपी शर्मा ओलीकै अहंकारको कारण नेकपा विभाजन भएको सुनाए । उनले प्रचण्डले देशलाई ठूलो दुर्घटनाबाट बचाएको पनि दाबी गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले त प्रचण्डकै कारण देशमा समस्या आएको हो भनेर आरोप लगाउनुभएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा नेता गजुरेलले भने–‘पछिल्लो समय प्रचण्डले विस्तारै आफूलाई अपग्रेड गरेको नै मैले पाउँछु, एउटा ठूलो संकटमा उहाँले विजय प्राप्त गर्नुभयो, अहिले पनि तपाईँ एमसीसीको सन्दर्भमा एउटा ठूलो संकटमा राष्ट्र गैराखेको थियो, त्यो दुर्घटनाबाट राष्ट्र बचेको छ, हेर्दै जानुहोला मान्छेले यो कुरा बुझेका छैनन् । प्रचण्डको कारण यो देशमा गणतन्त्र आयो, उहाँ (केपी ओलीलाई) गणतन्त्र चाहिएको थिएन, अनि समस्या भएन त ? संघीयता चाहिएको थिएन, त्यो पनि आयो ।’

उनले आफूहरुले बरु ओलीमा समस्या देखेको सुनाए । उनले पछिल्लो समय प्रचण्डले राजनीतिमा लय समातेको दाबी गरे । उनले भने,‘उहाँ बीचमा केही चुकेकै हो, पछिल्लो महाधिवेशनपछि उहाँले राजनीतिमा लय समात्नुभएको छ, कमिकमजोरी भएकै हो । उहाँले पनि यो कुरा स्विकार्नुभएको छ। अहिले उहाँको राजनीतिक दस्तावेज पनि पारित भयो ।’



प्रतिक्रिया दिनुहोस्