काठमाडौं, २४ फागुन । काठमाडौंको रामकोटमा गएराती एकै परिवारका पाँच जनाले सामुहिक आत्महत्या प्रयासको बारेमा अनुसन्धान हुँदैछ । पाँचजना परिवार मध्ये एक जनाको मृत्यु भएको छ र अन्य चार जना पनि अचेत अवस्थामा भटिएका थिए । उनीहरुको अवस्था गम्भिर रहेको छ ।
घटनास्थलबाट प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ । उक्त सुसाइड नोट करिब डेढ हप्तादेखि लेखिएको जस्तो १६ पृष्ठ लामो भएको प्रहरीले जनाएको छ । पाँच जनाको परिवार भाडामा बस्दै आएका थिए । बेहोस अवस्थामा भेटिएका ३३ वर्षिय सुवर्णमान प्रधानलाई अस्पतालमा पुर्याइएको थियो । उनको अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान, ३५ वर्षीय बुहारी मन्दिरा र ११ वर्षीया सुप्रियाको अवस्था गम्भिर रहेको छ । उनीहरु बोल्न सक्ने अवस्थामा छैनन् । प्रहरीले उनीहरुको कोठाबाट विषादीको बट्टासमेत फेला पारेको छ । प्रधान परिवार पारिवारिक तनाव, चरम आर्थिक संकट, डिप्रेसनमा गएको प्रारम्भिक अनुमान गरिएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुसाइड नोटमा दायाँ र बायाँ ल्याप्चेसमेत लगाइएको र दैनिकिबारे पनि लेखिएको बताइएको छ। भीममान र सुवर्णमानले मानसिक रोगको औषधी प्रयोग गर्ने गरेको पाइएको छ ।