Logo

जसले पुरुषको ‘अनिवार्य आवश्यकता’ लाई अस्वीकार गरिन्



दीपेश केसीः सिमोन डी वोभोरले महिलाको जीवनमा पुरूषको ‘अनिवार्य आवश्यकता’ लाई अस्वीकार गरिन् । महिलामाथि पुरूषले ऐतिहासिक कालखण्डदेखि घर देखि राज्यसम्म लाद्दै आएको पद्धति र प्रणालीले दोस्रो दर्जाको नागरिक बनाइएकोप्रति कठोर तर्क राखिन् । जीवनभर विवाह गरिनन् । विवाहलाई महिलालाई दोस्रो दर्जामा राख्ने संस्था भन्दै आफूमाथि राखिएको विवाह प्रस्तावलाई ठाडै नकारिन् । आफूले सबैभन्दा बढी माया र सम्मान गर्ने दार्शनिक सार्टेको विवाह प्रस्तावलाई समेत लत्याइन् । यति भन्दैमा उनी पुरूषलाई घृणा चाहिं गर्दिनथिइन् । सार्टेलगायत धेरै चर्चित पुरूषसँग सम्बन्ध गाँसिन् । यौन दुव्यर्वहारको आरोप समेत खेपिन् । जसलाई उनले ठाडै अस्वीकार गरिन् । विवादास्पद व्यक्तित्वको परिचय बनाएकी वोभोरले सँसारमा महिला मुक्तिको अभियानमा जर्बजस्त विचारधारा बहसमा ल्याएर पित्तृसत्तात्मक समाजलाई झड्का दिन सफल भइन् ।

वोभोर बाल्यकालमा सन्यासीनी बन्ने सम्मको अवस्थामा पुगेकी थिइन् । धार्मिक स्वभावकी उनी नास्तिकमा परिवर्तन हुँदै महिला आन्दोलनको उचाईमा पुग्नुमा बाल्यकालको पृष्ठभूमीले उत्तिकै भूमिका खेलेको थियो । जर्ज बर्टान्ड र फ्रान्सोइस ब्रासिउर डी वोभोरको जेठी छोरीका रूपमा सिमोहन डु वोभोरको जन्म ९ जनवरी सन् १९०८ मा फ्रान्सको राजधानी पेरिसमा जन्मेकी थिइन् । पूरा नाम सिमोन लुसी अर्नास्टाइन मेरी बर्टान्ड डी बोभोर हो । उनको बाल्यकाल भौतिक दृष्टिले सुखद थियो । तर आमा र बाबुबीच विचारधारामा निकै फरक । दुवैको वैवाहिक जीवनमा गतिरोध आउनुमा फरक विचारधारा मुख्य कारक बन्यो । आमा धार्मिक स्वभावकी थिइन् भने बाबुचाहिं नास्तिक थिए । नास्तिक कानुन व्यवसायी बाबु र रोमन क्याथोलिक धर्मालम्बी आमाबीचको वैचारिक मतभेदलाई नजिकबाट नियालेकी वोभोरमा त्यसको प्रत्यक्ष प्रभाव प¥यो । बाबुआमा चाहन्थे– वोभोर असल र आज्ञाकारी छोरी बनोस् । बाल्यकालमा आमाको प्रभावले वोभोर धार्मिक थिइन् । सन्यासी बन्ने सम्मको अवस्थामा पुगेकी थिइन् । तर किशोरावस्थामा प्राप्त शिक्षादिक्षाले उनमा व्यापक परिवर्तत आयो । नास्तिकमा परिणत भइन् । विद्रोही स्वभाव विकास भएपछि वोभोर आमाबाबुले चाहेको जस्तो आज्ञाकारी छोरी नबन्ने निर्णयमा पुगिन् । आमाको निगरानीमा पढेपनि उनी नास्तिक भइन् । सानैदेखि अध्ययनमा रूची राख्थिन् । २१ वर्ष पुग्दा हजुरआमासँग बसिन् र दर्शनशास्त्रको अध्ययन गर्न थालिन् ।

यूरोपमा भएको युद्ध र द्वन्द्वले सामान्य नागरिकको जीवनमा नकारात्मक असर परिरहेको थियो । वोभोरको मध्यमवर्गीय परिवार संकटमा प¥यो । पैसाको अभावमा विवाह संकटमा प¥यो । चुनौती र पीडालाई वोभोरले अवसरका रूपमा सदुपयोग गरिन् अध्ययन र ज्ञान आर्जनमा सक्रिय बनाइन् । अभावले अवसर प्रदान गरिदियो । बाबुआमाको दुईमात्र छोरी र त्यसमाथि पनि जेठी वोभोर केटा जस्तो सोच्थिन् र साहसी थिइन् । बाबुको प्रोत्साहनले झन् हौसिन्थिन् ।

सन् १९२८ मा स्नातक उत्तीर्ण पछि थप शिक्षाका लागि वोभोर तयारीमा जुटिन् । सन् १९२९ मा दर्शनशास्त्रको अध्ययनको अवसर प्राप्त गरिन् । सरमोनेमा दर्शनशास्त्रको डिग्री हासिल गरिन् र पछि लिसीमा अध्यापन पनि गरिन् । दर्शनशास्त्रको अध्ययनका समयमा दार्शनिक जेन पाउल सार्टेलाई भेटिन् । दर्शनशास्त्रका विद्यार्थी सार्टेसँगको भेट महत्वपूर्ण बन्यो । सार्टेसँग वोभोर निकट थिइन् । दुवैबीच प्रेमसम्बन्ध थियो । सार्टे वोभोरसँग विवाह गर्न चाहन्थे । कट्टर महिलावादी वोभोरचाहिं विवाह गर्नु भनेको ‘बुर्जुवा स्वास्नी’ बन्नु हो भन्ठान्थिइन् । सार्टेको विवाह प्रस्ताव अस्वीकार गरिन् । दुवैबीच विवाह नभएपनि जीवनपर्यन्त घनिष्ठ सम्बन्ध राख्न सफल भए । दुवै एक अर्काको विचारधारा र व्यवहारबाट प्रभावित थिए । स्वतन्त्र प्रेमीको शैलीमा सम्बन्ध राखे तर विवाहविरोधी वोभोरले सम्बन्धलाई संस्थागत गर्न चाहिनन् ।

सन् १९३९ मा दोस्रो विश्वयुद्ध प्रारम्भ भएपछि विश्व राजनीतिमा ठूलो उतारचढाव आयो । वोभोर र सार्टेको दूरी बढ्यो । सार्टे सैन्य गतिविधिमा संलग्न भए । सन् १९४० मा जर्मनले फ्रान्समा आक्रमण गर्दा सार्टे बन्दी बनाइए । वोभोर राजधानी पेरिस छाड्न वाध्य भइन् । युद्धका समयमा वोभोर लेखनमा सक्रिय भइन् । अध्यापन छाड्न वाध्य भइन् । सन् १९४७ मा वोभोरको दी इथिक्स अफ एमबिगिटी प्रकाशित भयो । सोही वर्ष उनी अमेरिका भ्रमणमा पुगिन् जहाँ उनको भेट उपन्यासकार नेल्सन एल्ग्रेनसँग भयो । दुवैबीच सम्बन्ध नजिकियो । एल्ग्रेनसँगको चार वर्ष सम्बन्धपछि विवाहको चर्चा चल्यो । एल्ग्रेनले विवाहको प्रस्ताव राख्दा वोभोरले ठाडै अस्वीकार गरिन् । प्रेमसम्बन्धको दुःखद अन्त भयो । धेरै पुरूषहरूसँग अन्र्तरंग सम्बन्ध बनाएकी वोभोर सन् १९५२ मा पत्रकारसमेत रहेका फिल्म निर्माता क्लाउडी लान्जम्यानसँग नजिकिइन् ।

लान्जम्यान वोभोरभन्दा १७ वर्षले कान्छा थिए । ६ वर्ष चलेको सम्बन्ध सन् १९५८ मा टुट्यो । वोभोरले धेरै महिला साथी बनाइन् । समलिङ्गी सम्बन्धबारे विवादास्पद विषयहरू सार्वजनिक भए । प्राध्यापक रहँदा विद्यार्थीहरूसँग यौनसम्बन्ध राखेको प्रकाशमा आए । उनकै विद्यार्थी बियान्का वियनफिल्डले आफूमाथि वोभोरले शोषण गरेको आरोप लगाइन् । विद्यार्थीमाथि यौनशोषणको आरोपमा निलम्बनमा परेकी थिइन् । विद्यार्थीहरूलाई उक्साएर सार्टेसँग सम्भोगका लागि तयार गर्ने सम्मको आरोप लाग्यो । यौन मामलामा वोभोरका विवादास्पद तथ्य बाहिर आए । सार्टेले उनका विद्यार्थीलाई यौनका लागि वाध्य पार्न खोजेको र त्यसमा वोभोरले भूमिका खेलेको सम्मका विषय बाहिर आए । यतिसम्मकी वोभोरले सम्भोग गर्ने गरेको साथीसँग पछि एउटी विद्यार्थीको विवाह भयो । वोभोरले आरोपहरूलाई मिथ्या भनेपनि उनको विवादास्पद छविले धेरैले आरोपमा सत्यता रहेको ठाने । कतिपयले उनलाई बदनाम बनाउन खोजिएको भन्दै बचाऊ गरे ।

वोभोर फरक फरक देश घुम्न रुचाउँथिन् । अनुभवजन्य विषय र अवलोकनले लेखनमा निखार आउँदै गयो । सन् १९४९ मा दी सेकेण्ड सेक्स प्रकाशित गरिन् । महिलाको जैविक, मनोवैज्ञानिक, ऐतिहासिक, सामाजिक र दार्शनिक भूमिका र अवस्थाबारे गहिरो विश्लेषण गरिन् । महिला आन्दोलन र अधिकारमा ऊर्जा प्रदान गर्न पुस्तक महत्वपूर्ण सावित भयो । महिलावादको परम्परागत विचारधारामा रूपान्तरण ल्याउन पुस्तकले भूमिका खेल्यो । इतिहासको लामो कालखण्डयता महिलालाई समाजमा दोस्रो दर्जाको नागरिकका रूपमा राखिएकोबारे पुस्तकले विवेचना ग¥यो । वोभोरको तर्क अनुसार महिला हुनु प्राकृतिक तथ्य होइन निश्चित इतिहासको परिणाम हो । मनोवैज्ञानिक र जीवविज्ञानको नियतीका आधारमा महिलाको व्याख्या नगरिएको भन्दै सभ्यता र इतिहासको परिणामत महिलाको व्याख्या गरिएकोमा आलोचना गरेकी छिन् । महिला बनाउनका लागि बालिकालाई तदनुरुपको सामाजिकीकरण गराउने गरिएको उनको तर्क छ । कोहीपनि महिला भएर जन्मदैन बनाइन्छ– वोभोरको भनाई छ । दी सेकेन्ड सेक्स पुस्तकमा वोभोरले विवाहलाई अस्वीकार गरेकी छिन् । उनले वास्तविक जीवनमा पनि विवाह अस्वीकार गरिन् ।

सार्टेसँग वैचारिक बहस र कृतिमा सहयोग आदानप्रदान गर्थिन् । सार्टेसँगको संगतले वोभोरलाई वैचारिक स्तर वृद्धिमा लाभ मिल्यो । दुवै एक अर्काको लेख रचना पढेर कमी कमजोरी औल्याउँथे । दुवै सार्टेसँग जीवनभर प्रेममा रहेकी वोभोरलाई १५ अप्रिल सन् १९८० मा चोट पुग्यो । सार्टे सँसारबाट बिदा भए । सार्टेको निधनले एउटा सम्बन्धको निरन्तरता टुट्यो । सार्टे र वोभोर यति निकट थिए कि दुवै विदेश भ्रमणमा सँगै निस्कन्थे । एउटै टेबुलमा रहेर काम गर्थे । वोभोरले सार्टेको सम्झनामा ‘अडिउक्सः अ फेरवेल टु सार्टे’ पुस्तक सन् १९८१ मा प्रकाशित गरिन् । उक्त पुस्तकमा वोभोरले आफू र सार्टेबीचको सम्बन्ध उजागर गर्दै विरोधीहरूको चर्को आलोचना गरिन् । सार्टेकी धर्मपुत्री समेतलाई मुछिन् । सन् १९५४ मा प्रकाशित दी मान्डारिन्सले प्रिक्स गनकोर्ट पुरस्कार जित्यो । वोभोरले लेखेका उपन्यास मध्ये सी केम टु स्टे, दी ब्लड टु अदर्स, अल मिन आर मोर्टल र दी मान्डारिन्स चर्चित छन् ।

सार्टेको निधनपछि पनि महिलाविरूद्ध हुने हिंसा र अपराधविरूद्ध आवाज उठाइरहिन् । महिलावादी राजनीतिमा सक्रिय भइरहिन् । जीवनको उत्तराद्र्धमा वोभोर रक्सीको लतमा परिन् । उनको स्वास्थ्य बिग्रियो । शल्यक्रिया भयो । त्यसको केही समयपछि वोभोरलाई निमोनियाले छोयो । परिवर्तनका लागि अक्षर र आवाजका साथ सक्रिय वोभोरले १४ अप्रिल सन् १९८६ मा सँसार छाडिन् । सार्टेकै चिहानमा वोभोरको शव गाडियो ।
दोस्रो विश्वयुद्ध पश्चात् वोभोर वामपन्थी धारको सशक्त लेखकका रूपमा उदाएकी थिइन् । महिला मुक्ति उनको ध्येय थियो । सामाजिक न्याय, शान्तिपूर्ण सहअस्तित्व र महिला अधिकारलाई केन्द्रमा राखेर लेखिरहिन् । जुन विचारधारालाई उठान गरिन् तदनुरुपको जीवनयापन गरिन् । कहिले ‘बुर्जुवा स्वास्नी’ भइनन् । महिलालाई यौनको साधान बनाउँदै आएको ऐतिहासिक तथ्यलाई गहिरोसँग केलाएकी उनी कहिले पनि यौनको साधन बन्न तयार भइनन् । उनको जीवनमा आएका पुरूषहरूबाट यौनको साधन बनिएला भन्नेमा सजक भइन् । भावनामा डुबेर विवाह बन्धनमा बाँधिनेतर्फ सोचिनन् । जसले विवाहको प्रस्ताव गरे तिनलाई ठाडै नकारिदिइन् । यतिसम्मकी जीवनको लामो समय निकट सम्बन्ध रहेको सार्टेको विवाह प्रस्ताव समेत अस्वीकार गरिन् । न उनले विवाह गरिन् न त बच्चा जन्माइन् । वोभोरले साहसिक जीवन बाँचिन् । प्रतिवद्धता र निडरताले विचारधाराबाट कहिले डगमगाइनन् ।

महिला दार्शनिकहरूको संख्या नगन्य भइरहेको अवस्थामा वोभोरको उदय भयो । दोस्रो विश्वयुद्धभन्दा ठिक अगाडि पेरिसमा महिलाहरूको उल्लेख्य संख्या दर्शनशास्त्र अध्ययनमा लाग्न थालेका थिए । सोही समयमा वोभोर पनि दर्शनशास्त्रमा आकर्षित भएकी थिइन् । कुनैपनि किसिमका शोषण, दमन र अतिक्रमणको विरोध गरिरहिन् । सन् १९५० को दशकमा फ्रान्सले अल्जेरियामा उपनिवेश खडा गर्दा चर्को विरोध गरिन् । मुक्तिकी पक्षपाती वोभोरको कलम सोही उद्देश्यतर्फ लक्षित थिए । कत्तिपनि नडगमगाई मुक्तिका लागि लेखिरहिन् । वोभोरलाई आलोचकहरूले अतिवादी महिलाको उपमा दिए । सार्टेले चाहिं उनलाई निडर र आत्मनिर्भर महिला भन्दै पुरूषलाई घृणा नराख्ने स्वभाव उल्लेख गरेका छन् । तर उनले पुरूषको आवश्यकतालाई अस्वीकार गरेकी छिन् । पुरूषलाई यौनको साधन बनाएर उपयोग गरेको आरोप उनीमााथि छ । दार्शनिक सार्टेलाई उनले अधिकतम उपयोग गरेको आरोप लगाउनेहरू छन् । धेरै चर्चित पुरूष र महिलालाई उपयोग गरिन् । नकारात्मक पाटो जे भएपनि वोभोरले महिला मुक्तिको अभियानमा अविस्मरणीय योगदान दिएकी छिन् । सँसारमा महिला अधिकार र मुक्तिका लागि नयाँ बहस चलाएर गइन् । (केसीको प्रकाशोन्मुख पुस्तक विश्वाका चर्चित व्यक्तित्वहरुबाट)



प्रतिक्रिया दिनुहोस्