Logo

काँग्रेसले एमसीसीबारे जनतामा रहेको आशंका र भ्रम मेट्न सक्ला ?



काठमाडौं, २४ फागुन । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सदनबाट बहुमतले पारित भइसकेको छ । तर, जनमानसमा एमसीसीबारे अझै आशंका र भ्रमहरु दुवै छन् । दूरदराजका गाउँसम्म एमसीसीबारे नकारात्मक धारणा गडेको छ ।

सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लामो समय एमसीसीविरुद्ध उभिए । उनीहरुले एमसीसीलाई देशविरोधी भनेका थिए । अर्कोतर्फ, विपक्षी एमाले पनि एमसीसीबारे खुलेन ।

जनता समाजवादी पार्टी पनि एमसीसीबारे खुल्न चाहेन । उसले मतदान मात्र पक्षमा गरेको थियो । यसरी एमसीसीबारे खुलेर समर्थन गर्ने दल अझै पनि काँग्रेसमात्र छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि यसविरुद्ध खुल्यो ।

एमसीसीबारे देशको तल्लो इकाईसम्म स्पष्ट पार्ने कार्य नगरे चुनावमा ठूलो क्षति भोग्नुपर्ने बुझाई कााग्रेस नेताहरुमा देखिन्छ । यसकारण उनीहरु एमसीसीबारे कार्यकर्तामा प्रशिक्षण दिन थालेका छन् । कार्यकर्ताले जनतामाझ यसबारे प्रष्ट पार्ने उद्देश्य बनाएका छन् ।

पछिल्लो समय एमालेलगायत कम्युनिस्ट शक्तिले एमसीसीलाई चुनावी मुद्दा बनाउन सक्ने देखिनथालेको छ । विशेषगरी अमेरिकाविरोधी नारा लिएर उनीहरु जनतामाझ जान सक्छन् । विगतमा एमालेले नाकाबन्दीको विषय उठाएर भारतविरोधी नारा लिएर जनतामाझ गएको थियो ।

कुनै देश विशेषको विरोध गर्दै चुनावमा जाने शैली दलहरुले अपनाउन थालेका छन् । त्यसमा पनि एमाले, माओवादी अगाडि देखिएका छन् । यसकारण पनि काँग्रेसलाई एमसीसीबारे जनतामाझ आशंका मेट्ने देखि भ्रम निवरण गर्ने चुनौती छ । यसमा सफल नभए चुनावमा धक्का लाग्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot