Logo

अर्थतन्त्रको मामिलामा चरणबद्ध रुपमा चुक्यौंः अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी



काठमाडौं, २५ फागुन । अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले अर्थतन्त्रलाई उकास्न चरणबद्ध रुपमा चुकेको औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थशास्त्री डा. अधिकारीले भने, “आज अर्थतन्त्रका सूचकहरुले जटिल मोडमा पुगेको देखाउँछन् । हामी अत्यन्त सतर्क र सजग हुनुपर्ने स्थितिमा पुगेका छौं । महामारीका कारण अथाह लकडाउनले अर्थतन्त्र धराशायी भयो । लघु, साना, मझौला, घरेलु उद्योग बन्द भए । थुप्रैले स्वरोजगार गुमाए । संघीयताको कार्यान्वयन प्रभावकारी हुन सकेन । बाहिरबाट फर्केका जनशक्ति पुनः बाहिरै गए । स्थानीय तह सिथिल भए । अलिअलि माथि आउन थालेका संरचना भत्केर गए । हामी चरणबद्ध रुपमा चुक्यौं हामी ।”
राजनीतिक अदूरदर्शिताका कारण आर्थिक मुद्दा ओझेलमा परेको आरोप पनि उनले लगाए । अर्थशास्त्री डा. अधिकारीले भने, “हाम्रो मुलुकको सबभन्दा धेरै समय राजनीतिक छिनाझपटीले खायो । आर्थिक विषयमा दलहरु प्रवेश गरेनन् । अहिले तेल संकटले थुप्रै संकट निम्त्याएको छ । विश्वको महाशक्तिको टकराव र ध्रुवीकरण बढेको छ । विश्व आइडोलोजिकल वारमा प्रवेश गर्यो । हाम्रो आफ्नै उत्पादन न्यून छ । जनतालाई खानलाउनकै समस्या हुने स्थिति आयो । आर्थिक वृद्धिको कुरा त तपसिलमा भयो ।”
उनले सरकारलाई निर्वाचनमुखी बजेट नल्याउन सुझाव दिए । डा. अधिकारीले भने, “अब हामीले निर्वाचनमुखी बनाउने बजेट बनाउनुहुन्न । पुरानो ढर्रा पपुलिस्ट बजेट ल्याउनु हुन्न । नयाँ आयोजना राख्नुभन्दा पनि हिजोका पुराना र अपूरा आयोजना सम्पन्न गर्ने हिसाबले जानुपर्छ । तीन दशकसम्म पश्चिम सेतीको गीत गाएर बसेका छौं । बूढीगण्डकीका लागि उठाएको तेलमा पैसा कहाँ प्रयोग गरेको हो, अत्तोपत्तो छैन । माथिल्लो कर्णाली, फास्ट ट्रयाकमा बजेट सुनिश्चित गर्नुपर्छ । तीन वटै तहका सरकारले आन्तरिक स्रोत र साधनको समुचित ढंगले खर्च नगर्ने हो भने जनजीविका झन् कष्टकर हुन सक्छ ।”
देशप्रतिको संकल्पमा कमी आएका मुलुक झन् गरिबीमा धकेलिएको उनको टिप्पणी छ । डा. अधिकारीले थपे, “तीसको दशकअघि पनि मुलुक गरिबीमै थियो तर परनिर्भरता कम थियो । कृषि उत्पादनमा तुलनात्मक लाभ थियो । तर विदेशी मुद्राको सञ्चिती, सुन, भुक्तानी सन्तुलनका हिसाबले अर्थतन्त्र डामाडोल भयो । जनशक्ति प्रयोग, आर्थिक अनुशासन कायम गर्ने कुरामा हामी चुक्यौं । आफ्नै हात जगन्नाथ गरेका छौं । राजनीति काला बजारी, डन, अपराधीको हातमा गइसक्यो । अब देशप्रतिको संकल्प गर्ने बेला आयो ।”



प्रतिक्रिया दिनुहोस्