काठमाडौं, २५ फागुन । सुनसरी धरान घर भएका पोखरा बस्दै आएका रोजन राईको हत्यामा सम्लग्न एकजना बहराइनबाट पक्राउ परेका छन् ।
कास्की लेखनाथमा मजदुरी काम गरी बस्ने सुनसरी धरान घर भएका २० वर्षीय राईको हत्या भएको घटनामा संलग्न कास्की लेखनाथ सातमुहाने ठेगाना भएका ४६ वर्षीय अशोक गुरूङ पक्राउ परेका हुन् ।
२०६३ बैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारको क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो । घटनामा संलग्न अशोक गुरुङ घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा बहराईन गएको र उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएकोमा उनी बहराईनमा पक्राउ परेका थिए ।
उनलाई सम्बन्धित कसूरमा कारवाही गर्नेरगराउने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले मंगलबार नेपाल ल्याएको र थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइने उक्त शाखाले जनाएको छ ।