समाचार विश्लेषण । यतिबेला रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । हजारौंको ज्यान गइसकेको छ । अरबौं डलरको क्षति भइसकेको छ । रुससामु युक्रेन हार स्वीकार्न तयार छैन । रुस पनि सेना फिर्ता लाने पक्षमा छैन ।
रुस र युक्रेनबीचको युद्धमा तेस्रो पक्ष प्रत्यक्ष सहभागी भएको छैन । युक्रेन अमेरिकासहित यूरोपेली युनीयनका देशहरुबाट युद्धमा प्रत्यक्ष सहभागिता चाहिरहेको छ । आफ्नो देशलाई उडान निषेधित क्षेत्र घोषणा गर्न भनिरहेको छ । युद्धक विमान मागिरहेको छ । तर, अमेरिका र बेलायत त्यसमा सहमत छैनन् ।
पोल्यान्डले युक्रेनमा एमआइजी २९ युद्धक विमान पठाउने प्रस्ताव गरेको थियो । त्यसलाई अमेरिकाले अस्वीकार गरिदियो । २४ फागुनमा पोल्यान्डको यो प्रस्ताव युक्रेनका राष्ट्रपति भोल्डोमिर जेलेन्स्कीको युद्धक विमानको सहयोग मागपछि आएको थियो । यो प्रस्ताव अमेरिकाले किन अस्वीकार गर्यो ? चासो बनेको छ ।
अमेरिकासहित नाटो रुससँग प्रत्यक्ष युद्ध चाहँदैनन् । यो नाटोले स्पष्ट सँग भनेको छ । अमेरिकासहित उसको एलायन्समा रहेका देशहरुले आर्थिकलगायतका प्रतिबन्ध लगाएर रुसलाई कमजोर बनाउन खोजिरहेका छन् । अमेरिकाले रुसी तेल प्रतिबन्ध लगाएको छ । बेलायत, जापानलगायतका देशले पनि अमेरिकाको शैली अपनाएका छन् । अमेरिकाले रुसलाई विश्वबाट एक्लो बनाउने प्रयास गरिरहेको छ ।
अमेरिकाले रुसको अर्थतन्त्र कमजोर पार्दै विफल बनाइदिन खोजेको छ । रुस पनि आन्तरिक तयारीमा छ । अमेरिकी कम्पनीहरु रुस छाडिरहँदा चिनियाँ कम्पनीहरु पस्न थालेका छन् । यो अर्को विकसित घटना हो । सबैले आफ्ना लागि अवसर देख्न थालेका छन् ।
रुसविरुद्धको प्रतिबन्धले कच्चा तेलको मूल्य प्रतिब्यारल १३० डरल नाघेको छ । यूरोपमा प्राकृतिक ग्याँसको मूल्य दशौं गुणाले बढेको छ । यूरोप ठूलो आर्थिक संकटमा पर्दैछ । अमेरिकाले रुसी तेल प्रतिबन्ध लगाउने निर्णयलाई जर्मनीले मानेको छैन । यस्तो निर्णय लिएमा रुसले जर्मनीमा ग्याँस नै बन्द गर्ने चेतावनी दिइसकेको छ ।
रुससँगको यूरोपको सम्बन्ध द्वन्द्वसहित आवश्यकताको छ । रुससँग टकराव लिंदा यूरोपले ठूलो आर्थिक मूल्य चुकाउनुपर्ने हुन्छ । त्यसकारण उनीहरु संयम देखिएका छन् ।
अमेरिका पनि रुसविरुद्ध प्रत्यक्ष युद्धमा सहभागी हुन तयार छैन । यस्तो कदम तेस्रो विश्वयुद्ध निम्त्याउनु सरह हुनेछ । रुसले युक्रेनमा उडान निषेधित क्षेत्र घोषणा गर्ने जुनसुकै राष्ट्र प्रत्यक्ष युद्धमा सहभागी भएको ठहरिने बताइसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नै यस्तो चेतावनी दिएका छन् । यो भनेको रुस युक्रेनसँग मात्र नभई अन्य देशसँग पनि युद्ध लड्ने अवस्थामा बढ्नु हो ।
अमेरिका रुससँग युद्धमा बढेमा परमाणु हतियारको प्रयोग हुनसक्छ । अमेरिकासँग भन्दा रुससँग परमाणु हतियारको शक्ति बढी रहेको स्वयं अमेरिकी संस्थाहरुको रिपोर्टले देखाउँछ । विश्वमा अहिलेसम्म परीक्षण भएको मध्येको शक्तिशाली परमाणु हतियार जार बम रुसले सन् १९६१ मा नै परीक्षण गरिसकेको छ ।
रुसले सन् २०१५ मा जार बमभन्दा पनि धेरै शक्तिशाली परमाणु बम विकास गरेको उल्लेख छ । सन् २०२० मा जार बम परीक्षणको गोप्य भिडियो फुटेज रुसले नै सार्वजनिक गरेको थियो । यो आफैमा अर्थपूर्ण मानिएको थियो ।
पुटिनले बारम्बार आफ्नो देशको सैन्य शक्ति बढेको भन्दै अभिव्यक्ति दिने गरेका थिए । शक्ति आर्जन गरेर नै पुटिन अगाडि बढेको ठम्याई अमेरिकालगायत पश्चिमा देशहरुको छ । यसकारण पनि उनीहरु रुससँग प्रत्यक्ष युद्धमा सहभागी भएर आफू पनि ठूलो क्षति भोग्न तयार छैनन् ।
रुससँग अमेरिकासहित बेलायत, जर्मनी, इटाली जस्ता देशहरु युद्धमा होमिएमा परमाणु हतियारको प्रयोग हुन सक्छ । यसले निम्त्याउने विध्वंश भयावह हुनसक्छ । यो परिणाम नसोचेको हुनसक्छ । पश्चिमा देशहरुले भोग्ने क्षतिले अन्य शक्तिलाई फाइदा हुनसक्छ ।
चीन, भारत, दक्षिण अफ्रिका, ब्राजिल जस्ता उदीयमान शक्तिहरु रुस र युक्रेनबीचको युद्धमा तटस्थ देखिएका छन् । उनीहरु युद्धबाट टाढा रहेर आफ्नो आर्थिक तथा सामरिक स्वार्थ हेर्न थालेका छन् । यसकारण पनि अमेरिका सतर्क देखिन्छ ।
अमेरिकाको निकट मानिने इजरायल पनि तटस्थ भूमिकामा देखिएको छ । इजरायलले अमेरिका र रुससँग समदूरी राखेर फाइदा लिन खोजिरहेको छ ।-एजेन्सीको सहयोगमा