Logo

सुस्मिता हत्या प्रकरणः डेढ वर्ष बित्दा पनि जिल्ला अदालतमा थन्कियो मुद्दा



काठमाडौं, २५ फागुन । हेटौंडामा १ असार २०७७ मा हत्या गरिएकी सुस्मिता थापा क्षेत्रीसम्बन्धी मुद्दा अझै जिल्ला अदालत मकवानपुरमा विचाराधीन छ । पटक पटक पेशी तोकिने र सर्ने गरेबाट पीडित पक्ष असन्तुष्ट बनेका छन् ।

सुस्मिता थापा क्षेत्रीका आफन्त आज पेशी तोकिएपछि सुनुवाई हुने आशामा हेटौंडा पुगे । तर, आज मुद्दामाथि सुनुवाई हुन सकेन । यसपछि पीडितका आफन्त आक्रोशित हुँदै श्रेस्तेदार कहाँ पुगे । सुस्मिताका ठूलोबा हेमबहादुर खड्काले सुस्मितालाई न्याय दिन ढिलाई गरेकोमा असन्तुष्टि पोखेका छन् । उनले भने,‘सुस्मिताको हत्या भएको दुई वर्ष पुग्न लाग्यो, पीडकहरु जेलमा छन् भनेर फैसलामा किन ढिलाई भइरहेको छ ?’

मकवानपुरको सूर्यचोकमा हत्या गरिएकी २४ वर्षीया सुस्मिता थापा क्षेत्रीको हत्या अभियोगमा उनकै ससुरा, नन्दसहितको परिवारका सदस्य पक्राऊ परी र्पुपक्षका लागि थुनामा छन् । प्रहरीले सुस्मिता थापाको हत्याको कारणमा भौतिक आक्रमण देखि जर्बजस्ती करणी उद्दोग लुकाउने सम्मको कारण देखिएको खुलाएको थियो ।

सुस्मितामाथि ससुरा प्रकाश थापाले जर्बजस्ती करणी उद्दोग गरेको समेत खुलेको थियो । असार १ गते रक्सी पिएर ससुरा प्रकाश थापाले काठको लौरोले खान खाइरहेकी बुहारीलाई प्रहार गरेको र परिवारका अन्य सदस्यले समेत आक्रमण गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको थियो ।
हत्याको अभियोगमा सुस्मिताककी नन्द सीता थापा पनि र्पुपक्षका लागि थुनामा छिन् । घटनामा सासुले देखेको र उनलाई प्रकाश थापा र सीता थापाले कोठाबाट बाहिर निकालेको प्रहरीको निष्कर्ष थियो ।

सुस्मितालाई पटक पटक काठको लौरो र ढुंगाको लोहोरोले निर्ममता पूर्वक प्रहार गरी हत्या गरेको खुलेको थियो । १ असारमा हत्या गरी भोलिपल्ट विहान ५ बजे बुहारीले आत्महत्या गरी भनी छिमेकीलाई जानकारी गराएपश्चात प्रहरीलाई खबर गरेका थिए ।

सुस्मिताका पति रुपेन्द्र थापाको मृत्यु भइसकेको थियो । पतिको मृत्युपछि एकल महिला सुस्मितामाथि परिवारले दुव्यर्वहार गर्न थालेको खुलेको थियो । २३ असोज २०७६ मा ससुरालीबाट फर्कने क्रममा सवारी दुर्घटनामा परी सुस्मिताका पति रुपेन्द्र थापाको मृत्यु भएको थियो । रुपेन्द्रको मृत्युको कारण सुस्मिता हो भनी मानसिक यातना दिने गरेका थिए ।

सुस्मिताका पति रुपेन्द्रको सवारी दुर्घटनापश्चात क्षतिपूर्ति पाउने पाँच लाखबारे घरायशी विवाद भएको थियो । सुस्मिताले पाँच लाख लिएपछि घरपरिवारले आफूहरुले पाउनुपर्ने दाबी गरेका थिए । उनले काम गर्ने कम्पनिबाट बिमा, बोन, तलब भत्ताको बाँकी रकम गरी ३७ लाख भुक्तानी लिने विषयमा पनि विवाद भएको थियो । यसकारण पनि भुक्तानी हुन सकेको थिएन ।

सामाजिक सुरक्षा कोषबाट एक लाख ७७ हजार सुस्मिताको बैंक खातामा जम्मा भएको, बिमाको १० लाख इच्छाइएको व्यक्ति बाबु प्रकाश थापाले लिइसकेको भेटिएको थियो । आर्थिक विषयले पनि विवाद बढेको खुलेको थियो । त्यतिबेला डिएसपी इन्द्रबहादुर राना नेतृत्वको टोलीले अनुसन्धानबाट यी तथ्यहरु पत्ता लगाएको थियो ।

कपिलवस्तुकी २४ वर्षीया सुस्मिता थापा क्षेत्रीको हेटौंडाका रुपेन्द्र थापाबीच १८ वैशाख २०७६ मा विवाह सम्पन्न भएको थियो । ससुरालीबाट फर्कने क्रममा २३ असोजमा नवलपरासीको दाउन्नेमा थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । त्यसपछि सुस्मितामाथि परिवारले चरम यातना दिने गरेको थियो । पैसाको विषयमा विवाद समेत भएपछि उनको हत्या भएको खुलेको थियो ।



प्रतिक्रिया दिनुहोस्