Logo

चुनावी गठबन्धनमा जाने कि नजाने, कांग्रेसले निर्णय छिटो गर्नुपर्छः डा. वंशीधर मिश्र



काठमाडौं, २६ फागुन । नेकपा (एकीकृत समाजवादी) का नेता डा. वंशीधर मिश्रले पार्टीभित्र एमसीसी विवाद सकिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. मिश्रले भने, “एमसीसी सम्झौतामा केही आशंकायुक्त प्रावधान थिए । नागरिक स्तरमा नकारात्मक सोच आएको थियो । हामी त्यसलाई बदल्न सफल भएका छौं । अन्तर्राष्ट्रिय कानुनी मान्यतासहित पारित गरेकाले कार्यान्वयन पक्षमा गएका छौं । पार्टीभित्र एमसीसीसम्बन्धी विवाद र बहस अन्त्य भएको छ ।”
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमा नेकपा एमाले अध्यक्ष केपी शर्मामाथि लगाइएको आरोप निराधार नभएको उनले दाबी गरे । डा. मिश्रले भने, “उहाँले ओलीमाथि फगत आरोप लगाउनुभएको होइन । हामी अलोकतान्त्रिक शक्तिलाई परास्त गर्न सफल भएकै हौं । यो यथार्थ कुरा हो । हामीले देश र जनताको हितका लागि विद्रोह गरेका छौं । अब हामी संविधान र प्राप्त उपलब्धिको रक्षा गर्दै गठबन्धन संस्कृतिलाई बलियो बनाउने पक्षमा छौं । ठूलो पार्टीबाट भरखर विद्रोह गरेकाले पुनः संगठित गर्दै जान एकताबद्ध भएका छौं ।”
चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा नेपाली कांग्रेसभित्र दुबिधा भए पनि त्यसको छिटो निर्णय गर्नुपर्ने डा. मिश्रले औंल्याए । उनले भने, “नेपाली कांग्रेस अहिले दुबिधामा छ । उसले गठबन्धनमा जाने वा नजाने जे निर्णय गर्ने हो, त्यो छिटो गर्नुपर्यो । उसले गठबन्धनमा नजाने निर्णय गरे पनि बाँकी दलसँग गठबन्धन गरेर जान्छौं । चुनावबाट भाग्ने कुरा हुँदैन, भाग्नु पनि हुँदैन । हामी जुनसुकै परिस्थितिका लागि तयार छौं ।”
गठबन्धन नभए त तपाईंहरुको अस्तित्व संकटमा पर्छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता डा. मिश्रले भने, “नेपाली कांगेसले सकेसम्म केन्द्रीय कार्यसमितिबाट छिटो निर्णय गरेर गठबन्धनमा जानुपर्छ । भएन भने पनि हामीले अन्यथा लिँदैनौं । मित्रवत् प्रतिस्पर्धाका लागि पनि तयार छौं । हरेक चुनौती अवसर हो । ठूलो पार्टीबाट विभाजित भएकाले कठिन त छ । तर अस्तित्वमाथि संकट आयो भन्नु अतिशयोक्ति हुन्छ । भुले भड्केका साथीहरु दिनहुँ पार्टी प्रवेश गरिरहेका छन् ।”
पूर्व राजदूत समेत रहेका डा. मिश्रले राजदूत फिर्तासम्बन्धी निर्णयमा हतार गरिएको टिप्पणी गरे । उनले भने, “सरकार बदलिने बित्तिकै सबै राजदूत फिर्ता गर्न हतार गरियो । व्यवस्था परिवर्तन भएको होइन । सरकार मात्र परिवर्तन भएको हो । अन्तर्राष्ट्रिय सम्बन्धमात्र नभएर सम्बन्धित देशमा रहेका नागरिकलाई असुविधा भइरहेको छ । अब राजदूत नियुक्ति यथाशीघ्र हुनुपर्छ । यसबारे गठबन्धनभित्र गृहकार्य पनि भइरहेको छ ।”

 



प्रतिक्रिया दिनुहोस्