एजेन्सी, २६ फागुन । भारतको ५ राज्यमा भएको चुनावलाई त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको परीक्षाका रुपमा समेत लिइएको छ । दोस्रो कार्यकाल प्रधानमन्त्रीका रुपमा रहेका मोदीले आउँदो वर्ष सन् २०२३ मा हुने चुनावमा कस्तो प्रदर्शन गर्ने हुने भन्ने आँकडा गर्ने आधारका रुपमा विधानसभा चुनावलाई लिइएको हो ।
भारतमा सबैभन्दा बढी लोकसभाको सिट संख्या रहेको उत्तर प्रदेशको विधानसभा चुनावलाई निकै चासोका साथ हेरिएको छ । मोदी उत्तर प्रदेशको बनारसबाट निर्वाचित लोकसभा सदस्य हुन् । भाजपाका चर्चित अनुहार योगी आदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री हुन् ।
उत्तर प्रदेशमा लोकसभाको ८० सिट छ । प्रारम्भिक मतपरिणाम अनुसार विधान सभामा भाजपा बहुमत ल्याउने दिशातर्फ बढेको छ । यसले मोदीको जादू अझै भारतमा चलिरहेको बुझ्न सकिन्छ ।
उत्तराखण्डमा पनि भाजपा बलियो देखिएको छ । प्रारम्भिक मतगणना अनुसार उत्तराखण्डमा भाजपा झीनो बहुमत ल्याउनेतर्फ बढेको छ ।
मणिपुरमा पनि भाजपाले भारी बहुमत ल्याउने देखिएको छ । तर, गोवामा भने तिव्र प्रतिष्पर्धा देखिएको छ ।
५ राज्यमध्ये पञ्जाबबाहेकका राज्यहरुमा भाजपाको सरकार थियो । उसले ३ राज्यमा बहुमत ल्याउने सकेतहरु देखिएको छ । गोवामा भने कसैको पनि बहुमत नआउने मतपरिणामले देखाएको छ ।
यो चुनावले मोदीको प्रभाव भारतमा अझै रहेको देखिन्छ । मोदीको दल भाजपाले ४ राज्यमा नै प्रभाव कायमै राखेको देखिन्छ । तर, पञ्जाबमा भने भाजपालाई धक्का लागेको छ । त्यहाँ आम आदमी पार्टी बलियो देखिएको छ । भाजपाले यसअघि जितेका सिटेहरु पनि गुमाउने अवस्था छ ।
उत्तर प्रदेशसहितका ५ राज्यको प्रारम्भिक मतपरिणामले मोदीको जादू अझै भारतमा चलिरहेको बुझ्न सकिन्छ । चुनावी परिणाम अनुसार नै आउँदा वर्षको लोकसभा चुनावको परिणाम आएमा मोदीले तेस्रो कार्यकाल पनि प्रधानमन्त्री बनेर किर्तिमान बनाउने सम्भावना रहन्छ । तर, विधानसभाको चुनावकै आधारमा लोकसभाको चुनावी आँकलन गर्न भने सकिदैन ।
भारतमा मोदी बलियो प्रधानमन्त्रीका रुपमा देखिनु र भारतका जनताले बलियो प्रधानमन्त्री खोज्नुले उनलाई फाइदा पुगेको देखिन्छ । अर्कोतर्फ, मोदीलाई चुनौती दिने भारतमा अर्को बलियो नेता नदेखिनुले पनि पल्लाभारी देखिएको छ ।