काठमाडौं, २६ फागुन । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रमा भोलिको दिनमा धेरै गाह्रो पर्ने अवस्था देखिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व गभर्नर नेपालले भने, “हाम्रो अर्थतन्त्रको सबभन्दा खराब सूचक के हो भने ६ महिनादेखि लगातार रेमिट्यान्स घटेको घट्यै छ । पहिले पहिले कहिले घट्थ्यो, कहिले बढ्थ्यो । त्यसै कारण अहिले ढिकुटीको सञ्चिति घटेको घट्यै छ । हामीले रेमिट्यान्सबाटै वस्तुको आयात गर्ने हो ।”
अहिलेको विदेशी मुद्राको सञ्चिति जम्मा ६ महिनालाई धान्ने मात्र रहेको उनले औंल्याए । डा. नेपालले भने, “यो भनेको थ्रेस होल्ड हो । अति कम विकसितलाई ३ महिनालाई पुग्ने सञ्चिति हुनुपर्छ भनिएको छ । यसले अर्थतन्त्रको अनिश्चितता देखाएको छ । महामारी, संकट, अस्थिरता आउला भनेर संसारका जति पनि विकाससील र अति कम विकसित छन्, तिनले यो भन्दा धेरै सञ्चिति राख्छन् । कतिपय देशले ६ ट्रिलियन डलर सञ्चिति राखेका हुन्छन् । यस हिसाबले भोलिको दिनमा नेपाललाई धेरै गाह्रो पर्ने देखिन्छ ।”
रुस र युक्रेनको युद्धका कारण नेपालले थप मार बेहोर्नुपर्ने स्थिति आएको डा. नेपालको विश्लेषण छ । उनले थपे, “युरोपमा ५० प्रतिशत तेल रुस र युक्रेनले निर्यात गर्छन् । अहिले आपूर्ति कम भइरहेको छ । नेपालमा खानेतेल आपूर्ति गर्ने मुलुक युक्रेन हो । सन फ्लावर र तोरीको तेलको भाउ बढेको छ । पेटेलको भाउ बढेको छ । डलरको भाउ बढेको छ । सुनको भाउ बढेको छ । आउँदा दिन अत्यन्त कठिन छन् । डलर तिरेर आउने कच्चा पदार्थको भाउ बढ्छ । अहिले पेटेल किन्न लाइन छ । भोलि खाद्यान्न किन्नका लागि लाइन लाग्नुपर्ने स्थिति आउन सक्छ ।”
विगत ६ महिनामा १० अर्बको सागसब्जी आयात भएको भन्दै डा. नेपालले भोलि खाद्यान्न किन्न लाइन बस्नुपर्ने अवस्था आउने औंल्याए । उनले भने, “हामी अत्यधिक वस्तु बाहिरबाट आयात गर्छौं । विगत ६ महिनामा १० अर्बको त सागसब्जी नै आयात गरेछौं । यो सागसब्जी नहुने देश हो र ? मुला काक्रो, हरियो खुर्सानी, कागती, गोलभेंडा पनि बाहिरबाट ल्याउँछौं । खेतबारी सबै बाँझो छ । अनि देशले कसरी थेग्छ ?”
रेमिट्यान्स घटेपछि बैंकमा तरलता अभाव भएको उनको टिप्पणी छ । डा. नेपालले भने, “कोरोना महामारीपछि ३२ प्रतिशत कर्जा विस्तार भयो । तर राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गरिदियो । ब्याज बढी पाउँछु भन्नेले पैसा राख्न गएन । समयमा आएको बजेट पनि अर्को सरकारले परिमार्जित गरेपछि तत्काल कार्यान्वयनमा आएन । मौद्रिक नीतिमा पनि अबेर भयो । यो हाम्रै कमजोरी हो । एक त त्यत्रो कर्जा विस्तार नहुनुपर्ने थियो । राजस्व उठेको छ, ढिकुटीमा पैसा पनि छ तर बजारमा पैसा छैन । यस्तो संसारमा कहीँ पनि हुन्न । तरलता अभाव हुन नदिन तत्काल आर्थिक ऐन संशोधन गर्नुपर्छ । सरकार रिजिड होइन, फेक्सिवल हुनुपर्यो ।”