तुलसीपुर, २६ फागुन । दाङमा तीन उपत्यका छन् । एउटा देउखुरी, अर्को दाङ र तेस्रो तुइ दाङ । तुइ दाङ हालको तुलसीपुर उपमहागनरपालिका–१३स्थित फूलवारी हो । जस्ले जिल्लाका सबै क्षेत्रको बनावटलाई प्रतिनिधित्व गर्छ । वरिपरि चुरे पहाडले घेरिएको एउटा बस्ती । हेर्दा निकै सुन्दर भएपनि विकासका हिसाबले निकै पछाडि परेको तर औद्योगिक क्षेत्रका नाममा ज्यादै बहस भएको क्षेत्र हो ।
माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेसुराम भण्डारीले भन्नुभयो “म नगरप्रमुखका लागि विस २०७४मा उम्मेदवार हुँदा फूलबारीलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने योजना बनाएको थिएँ, किनकि यो स्थल औद्योगिक क्षेत्रका लागि अति उपयुक्त छ ।” त्यहाँ पानी पर्याप्त हुनाका साथै धुलो तथा धुवाँको प्रदुषण कम गर्ने जङ्गल रहेको र आवश्यक जग्गा तथा मजदुर पनि पाइने भएकाले उद्योग स्थापनाका लागि विज्ञहरूले उपयुक्त भएको भनी प्रतिक्रिया दिनाका साथै पर्याप्त बहस पनि धेरै भए । हालका नगरप्रमुख घनश्याम पाण्डे र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले पनि फूलबारी औद्योगिक क्षेत्र विकासका लागि उपयुक्त स्थान भएको भन्दै अवलोकन तथा छलफल गरेका थिए । सरोकारवालाले पनि यस विषयलाई जोडतोडका साथ उठाएका थिए ।
फूलबारी एकान्त पनि भएकाले त्यहाँको बस्तीलाई अन्यत्र स्थान्तरण र औद्योगिक क्षेत्रका रूपमा विकास गर्न पटक–पटकको बहस बहसमै सीमित भयो । त्यहाँ अन्य विकासका कार्य अझै पनि नभएकाले औद्योगिक क्षेत्र बनाएमा त्यहाँको जीवनस्तर उकासिनेमा स्थानीयवासी अझै पनि आशावादी छन् । “कि त यहाँ राम्रोसँग विकास गरिदिए हुन्थ्यो, कि त औद्योगिक विकास गरेर हामीलाई अन्यत्र व्यवस्थापन गरे निकै सहज हुने थियो”, तुलसीपुर–१३ साजकुट्टी निवासी जुद्धबहादुर केसीले भने । लालबहादुर केसीलगायत अन्य स्थानीयवासीको भनाइ पनि उस्तै थियो ।
फूलबारीमा दुई क्षेत्रको लडाइँ प्रष्ट देखिन्छ । सबै विकास पश्चिम फूलबारीमा मात्रै हुने गरेको तर पूर्व फूलबारीलाई कुनै पनि चासो नदिने गरेको पूर्वतर्फका नागरिकले गुनासो छ। पश्चिमतर्फ विकासले फड्को मारेको, विद्युत्, पानीलगायतको सुविधा भए पनि पूर्वी फूलबारी भने अझैसम्म अन्धकार भएको त्यहाँका बासिन्दाको गुनासो थियो । “सबै विकास पश्चिममा हुन्छ, नेताहरु पनि सबै पश्चिमतिर छन्”, स्थानीयवासी केसीले भने, “पूर्वतर्फ त हामीलाई नेतृत्वमा पनि राख्दैनन , विकास पनि एकदमै शून्य छ ।” यहाँ विद्युत्का पोल गाडिएको छ तर राम्रोसँग सबै ठाउँमा बत्ती पनि बलेको छैन ।
“ खोलाको पानी पिउन बाध्य छौँ । पूर्व हुँदै तुइखोला बगेको छ । हामीले नौ पटकसम्म त्यो खोला तर्नुपर्छ । नजिकमा विद्यालय छैन, पढ्नका लागि घोराही रज्जे वा मन्नामे जानुपर्छ, कि भने बराखुट्टी आउनुपर्छ । बराखुट्टी जाँदा नौवटा खोला तर्नुपर्छ”, वसन्त खेत निवासी निर्मला नेपालीले भने, “खोलाले बगाउने हो कि भन्ने चिन्ता उत्तिकै छ, वर्षा लाग्यो भने आवतजावत गर्न पनि सकिने अवस्था रहँदैन ।”
खोलाको कुनै पनि स्थानमा पुल छैन । खोलामा बनेका स्ल्याब पनि वर्षात्मा बगाउने गर्छ । सिमलखुट्टीबाट रणीयापुर पुग्दासम्म नौपटक खोला तर्नुपर्छ । टेलिकमको टावर निर्माण भए पनि अझै त्यो टावर सञ्चालनमा आउन सकेको छैन । सडकको अवस्था उस्तै छ । ट्रयाक खोलिए पनि स्तरोन्नतिका लागि कसैबाट पनि पहल नभएको गुनासो पनि बढेको छ ।
अहिले पश्चिमको बराखुट्टीबाट साजखुट्टीसम्मको सडकमा ग्राबेल गर्न ह्युमपाइप राख्नका लागि रु तीन करोड बजेट निकासा भएको छ ।
“अहिलेसम्म यो सडकलाई कसैले पनि हेरेका थिएनन्”, स्थानीयवासी लालबहादुर केसीले भन्नुभयो, “धेरै पछि राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले हेरेका छन्, हामी निकै खुसी भएका छौँ ।” उनले फूलबारी महत्वको स्थल रहेकाले यसको विकास गर्न आवश्यक भएको भन्दै बजेट उपलब्ध गराउन पहल गरेका थिए । फूलबारी कृषि उत्पादनका लागि लनि उपयुक्त छ, वातावरण पनि एकदमै राम्रो छ ।
यहाँका बासिन्दाको आय वृद्धिका लागि स्वरोजगारमुखी कार्यक्रमसमेत ल्याउनुपर्ने माओवादी केन्द्र १३ नं वडाका नेता देवबहादुर विकले जोड दिए । फूलबारीको पूर्वतर्फ साजखुट्टी, वसन्तखेत, सिमलखुट्टी, पनालीबोटलगायत छन् । यहाँ विकासका योजना नपरेपछि गाउँले आफैँले सक्रिय भएर पनि बाटो खन्न थालेका छन् । त्यहाँ सरकारी जागिरे, पढेलेखेका व्यक्तिसमेत उत्पादन हुन नसकेको स्थानीय अगुवा दिपशिखा घर्तीले बताए । विकासका हिसाबले पछाडि परेपछि शिक्षा, स्वास्थ्यमा पनि निकै असर परेको उनको भनाइ थियो ।
तुइ दाङ
देख्दा सुन्दर देखिन्छ, नामै काफी छ ‘फूलबारी’ । चारैतिर चुरेपहाड अनि बीचमा बसेका सुन्दर बस्ती । देख्ने जति सबैलाई मन लोभ्याउने ठाउँ हो ‘फूलबारी’ । समग्र दाङको झल्को दिने भौगोलिक अवस्था भएकाले पनि यसलाई तुई (सानो) दाङले चिनिने यो स्थल घोराही उपमहानगरपालिका, लमही नगरपालिकाको सिमाना पर्छ । दाङका तीनवटै सहर (तुलसीपुर, घोराही र लमही)को बीच केन्द्र हो । बजारकै केन्द्र पर्ने भएकाले धेरै जनाको गन्तव्य बन्ने गर्छ । देख्दा सबैले बयान गर्ने त्यो ठाउँको वास्तविक व्यथा भने फरक छ । उपमहानगरपालिकाको एउटा वडा भए पनि सडक सञ्जालका हिसाबले निकै नाजुक रहेको स्थानीयवासी दीपशिखाले बताए । “ट्रयाक खोलिएको छ, तर त्यसको स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन”, उनले भने, “नाम फूलबारी छ, तर सिँचाइको उचित व्यवस्थापन नहुँदा फूलबारीमा फूलहरू नै फुल्न छाडे ।”
त्यहाँका नागरिकले सिँचाइ सुविधा माग्न थालेको धेरे भयो तर पनि अझै सम्बोधन हुननसकेको छैन । केही ठाउँमा स्यालो ट्युबेल जोडिए पनि ती ट्युबेलमा पनि पानी आउन छाडेको छ । सिँचाइ नहुँदा हजारौँ बिघा जग्गा आकाशे पानीको भरमा खेती गर्नुपर्ने वा बाँझै छोड्नु पर्ने बाध्यता छ । फूलबारीको उत्पादनले वर्षमा तीन महिनामात्रै खाना पुग्ने र बाँकी नौ महिनासम्म कसरी चलाउने भन्ने चिन्ता रहने गरेको अर्का स्थानीयवासी मोहन पौडेलले बताए । “अहिले युवाहरू गाउँमा छैनन् । युवामध्ये कोही भारततिर, त कोही विदेश गएका छन्”, उनले भने, “ज्येष्ठ नागरिक र महिलाले नै गाउँ धानेका छन् । जागिरे तथा आम्दानीको अन्य स्रोत नभएका मात्रै यहाँ बस्ने गरेका छन् ।”
विकास निर्माणले पछाडि पर्दा त्यहाँका नागरिकको स्तर पनि वृद्धि हुनसकेको छैन । गाउँको विकासमा खटिनुपर्ने युवा अहिले भएको जग्गा पनि बाँझो राखेर विदेशमा पसिना बनाउनुपर्ने बाध्यता रहेको गुनासो गर्दै अर्का स्थानीयवासी देवबहादुर विकले भने, “ठाउँ–ठाउँमा खोला छन्, तर ती खोलामा पुल बन्न सकेका छैनन् । केही खोलामा बन्ने प्रक्रियामा छन् भने केहीमा पुल कहिले बन्छन् भन्ने निश्चित छैन ।”स्वास्थ्य संस्था, खाने पानी र सञ्चार सुविधाको अभावमा यहाँका बासिन्दाले अहिले पनि गुज्रनु परेको उनको गुनासो थियो । रासस