Logo

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग फिर्ता हुन्छ, उहाँ निश्चित् रुपमा अदालत फर्किनुहुन्छ : शंकर पोखरेल (भिडिओसहित)



काठमाडौं, २६ फागुन। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको गठबन्धनले नै अदालतमा सेटिङ गरेको पुष्टि भएको बताएका छन् । उनले भने,‘अदालतमा कसले सेटिङ गरेको रहेछ भनेर अन्त्यमा अदालतभित्रको बहसले उजागर गर्यो कि मन्त्री लेनदेन गरेर अदालतमा फैसला गरिएको थियो भनेर मन्त्री नियुक्ती गर्ने र फिर्ता गर्ने काम त उहाँहरुबाटै भयो । आज चाहीँ प्रधानन्यायाधीशमाथि महाभियोग लगाईएको छ । यदि सेटिङको आधारमा महाभियोग लगाईएको हो भने सेटिङ त एक्लै हुँदैन्, त्यो सेटिङ गर्ने कुरामा गठबन्धन जोडिएको छ । शेरबहादुर देउवाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन् ? प्रचण्ड र माधव नेपालले जिम्मा लिनुपर्छ कि पर्दैन् ? के एकल रुपमा प्रधानन्यायाधीशले मात्रै जिम्मा लिनुपर्ने हो ? यद्धपी प्रधानन्यायाधीशको भूमिकाको सन्दर्भमा हाम्रो गम्भीर असहमति छ । किनकी उहाँले संसद् र राष्ट्रपतिको अधिकार खोसेर अदालतबाट प्रधानमन्त्री तोक्ने काम गर्नुभयो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘उहाँको भूमिकामा हाम्रो असहमति छ । तर, सेटिङ र सौदावाजी गर्ने खालको काम त सत्ता पक्ष र अदालतको बीचमा भयो नि त, त्यसको दण्ड त एकल रुपमा अदालतले मात्रै व्यहोर्ने त ? सरकारले व्यहोर्नुपर्दैन् ?’ अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको विषयमा समितिमा तपाईँहरु किन बसेको त ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘यो त प्रक्रिया हो । हाम्रो संसद्मा सभामुखको भूमिकाप्रति आपत्ति हो । संसदीय समितिमा होईन, यसमा त हामी लगातार आवद्ध छौं । त्यसकारण हामी महाभियोग समितिमा छलफलको लागि हामी लगातार उपस्थित् हुन्छौं । तर, हाम्रो प्रयास के हुन्छ ? भने त्यो महाभियोग प्रस्ताव अगाडि बढाउनेप्रति हाम्रो असहमति हुन्छ । किनकी महाभियोग चाहीँ गलत नियतका साथ ल्याईएको छ । अदालतलाई प्रभाव पार्ने उद्देश्यका साथ ल्याईएको छ । अदालतमा विचाराधिन मुद्दाहरुलाई प्रभावित पार्ने उद्देश्यका साथ ल्याईएको छ । स्थानीय निर्वाचनलाई समेत प्रभावित पार्ने उद्देश्यका साथ महाभियोग ल्याईएको छ भन्ने हाम्रो जे विश्लेषण, त्यसकै आधारमा हामी प्रतिरोध गरिरहेका छौं ।’ उनले आफुहरु प्रधानन्यायाधीशलाई हटाउने पक्षमा नजाने सुनाए ।

अदालत सुधार गर्ने हो एक जना न्यायाधीशलाई चलाएर नभई समग्र सुधारको विषयमा छलफल गर्न आफूहरु तयार रहेको पनि उनको भनाई छ । उनले भने,‘अदालतमा सुधार आवश्यक छ, तर एक जना व्यक्तिलाई दण्डित गरेर अदालत सुधार गर्न सम्भव छैन् । समग्रतामा सुधारको सन्दर्भमा हामी गम्भीर छौं । हामीले नेपाली कांग्रेसलाई पनि त्यही भनेका छौं ।’ उनले आफूहरुले विगतमा सुशिला कार्कीमाथि महाभियोग लगाउँदापनि विपक्षमा उभिएर भूमिका खेलेको स्मरण गराए । उनले प्रतिपक्षीको सहयोगबिना महाभियोग पास हुन्छ र ? भनेर प्रश्न गरे । उनले सत्तापक्षले नै प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता लिने दाबी गरे । उनले भने,‘सत्ता पक्षले नै यो महाभियोगको प्रस्ताव फिर्ता लिन्छ, किनकी यो प्रस्ताव पारित नै हुँदैन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फेरि अदालत फर्किनुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot