काठमाडौं, २६ फागुन । नेपाल इन्जिनियर्स एशोसिएसनको ३३औं कार्यकारीणी समितिको भोलि (शुक्रबार)हुने निर्वाचनमा ई.रवि भुषण झाले सिडेनबाट अगाडी सारिएका लोकतान्त्रिक उम्मेदवारहरुको जीत निश्चित भएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको युट्युब च्यानलबाट प्रसारण भएको कार्यक्रम ‘वैचारिक मन्थन’मा पत्रकार सचिना बानियाँसँग कुरा गर्दै केन्द्रीय महासचिव पदका उम्मेदवार समेत रहेका ई.झाले यस्तो दाबी गरेका हन् ।
लोकतान्त्रिक समुहतर्फबाट उम्मेदवार बनेका झाले नेपाल इन्जिनियर्स एसोसिएशन सबै इन्जिनियरहरुको साझा भएको बताए । झाले एशोशिसनको मुल उद्देश्य इन्जिनियरहरुको पेशागत हकहित र क्षमता अभिबृद्धि रहेको भएपनि अहिलेको नेतृत्वले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए ।
आफ्नो समुह र आफुले चुनाव जितेमा इन्जिनियरहरुलाई निजामती सेवा प्रवेशमा सातौ तह कायम गराएरै छाड्ने जिकिर गरे । उनले भने,‘एउटै विज्ञापनमा लोकसेवाले नर्सिङलाई सातौ तह र हामीलाई चाँही छैठौ तहमा खुलायो, हाम्रो नेतृत्वले अलिकति ध्यान त्यसमा दिएको भए यो काम धेरै अघि नै समाधान भइसक्ने रहेछ ।’ आफ्नो समुह निर्वाचित भएमा सम्पुर्ण इन्जिनियरहरुको हक हितको लागि काम गर्ने सुनाए ।