Logo

सीपी मैनालीको आक्रोशः “चुनाव चिह्न मत माग्न दिएको हो कि लकेट बनाएर लगाउन दिएको ?”



काठमाडौं, २७ फागुन । नेकपा मालेका महासचिव सीपी मैनालीले चुनावका बेला चुनाव चिह्न खोस्ने निर्णय सरासर विभेदकारी, अन्यायपूर्ण र असंवैधानिक कदम भएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मैनालीले भने, “निर्वाचन आयोगले दल दर्ता गरेकै बेला चुनाव चिह्न दिएको हुन्छ । चुनाव चिह्नको काम त चुनावको बेला नै हुने हो । चुनावका बेला नै चुनाव चिह्न खोस्ने हो भने त्यसको के काम ? चुनाव चिह्न मत माग्न दिएको हो कि लकेट बनाएर लगाउन दिएको हो ? यो सरासर विभेदकारी, अन्यायपूर्ण र असंवैधानिक कदम हो ।”
निर्वाचन आयोगमा दर्ता भएका ८० वटा दलमध्ये ७४ दललाई चुनाव चिह्न नदिनु षडयन्त्र भएको आरोप पनि उनले लगाए । उनले भने, “६ वटा दलले मात्र साबिक चुनाव पाउने अनि अरु दलले आफ्नो परिचय बेगर जानुपर्ने ? ८० दलमा ६ वटा दललाई मात्र पेवा जसरी चुनाव चिह्न दिने ? बहुसंख्यक नयाँ र साना दललाई थिच्ने ? नेकपा मालेको चुनाव चिह्न हँसिया, हथौडा तारा हो । यसमै मत माग्न पाउनुपर्छ ।”
उनले यसबारे निर्वाचन आयोगलाई ध्यानार्षण गराएको, ठूला दलहरु र सर्वोच्च अदालतमा पनि जाने तयारी भइरहेको बताए । मैनालीले भने, “पहिलो कुरा त निर्वाचन आयोगलाई भनेका छौं । ध्यानाकर्षण गराएका छौं, सच्चाउन आग्रह गरेका छौं । सत्तासीन दलहरुसँग पनि छलफल गर्नेछौं । अदालतमा रिट तयार हुँदै छ । कहीँ पनि सुनुवाइ भएन भने आन्दोलनमा जानुपर्ने हुन सक्छ । विरोध भनेको पनि जनतामा जाने कुरा हो ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot