काठमाडौं, २७ फागुन । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आगामी तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् । उनले आफ्नो पार्टी एक्लैपनि निर्वाचनमा जाने सुनाए । उनले निर्वाचनलाई लिएर एमाले डराएको पनि टिप्पणी गरे ।
उनले भने,‘अहिले निर्वाचनको डर त एमालेलाई छ, अहिले गठबन्धन कायमै रहेर निर्वाचन भयो भने, अहिलेपनि हेर्नुहोस न अस्ति राष्ट्रियसभाको निर्वाचन भयो, १९ सिटको निर्वाचनमध्ये एक सिट उहाँहरुको हातमा परेको छ । प्रदेश सरकारहरु उहाँको हातमा थिए, सबै गुमे, यही ढंगले ओरालो लाग्ने हो ।’
अब निर्वाचनमा एमालेले बाजी मार्ने कुनै सम्भावना नभएको उनको दाबी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। उनले भने,‘सिंहदरबारको मूलगेटबाट पस्न त सामान्य नागरिकले पनि पाउँछ, उहाँले अब सांसद पद जोगाउन झापामा ध्यान दिनुपर्छ ।’
स्थानीय तहको निर्वाचनपनि नजिकिएको उल्लेख गर्दै अब कसको के हैसियत ? भन्ने कुरा देखिने सुनाए । उनले आफ्नो पार्टी भर्खरै जन्मिएको उल्लेख गर्दै संगठन विस्तारमा जोड दिईएको सुनाए । उनले अब एमाले हराउ, गठबन्धन जिताउ भन्ने मापदण्ड बन्ने पनि सुनाए ।