Logo

नेपालमा शक्तिशाली देशका उच्च अधिकारीहरुको दौडधूप किन बढ्दैछ ?



काठमाडौं, २७ फागुन । नेपालमा शक्तिशाली देशहरुका उच्च अधिकारीहरुको दौडधूप बढ्न थालेको छ । अमेरिकी अधिकारीहरुको दौडधूप चलेलगत्तै फ्रान्सका उच्च अधिकारीहरु नेपाल आएर फर्किएका छन् ।

अब चीन र साउदी अरबका उच्च अधिकारीहरु नेपाल आउने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ ई चैत्रको दोस्रो हप्ता नेपाल आउने चर्चा छ । भ्रमणको मिति नतोकिएपनि आउने निश्चित भइसकेको बुझिएको छ ।

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल विन फरहल अल साउदले फागुन ३१ देखि चैत्र १ गतेसम्म नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिइसकेको छ । भ्रमणमा महत्वपूर्ण हस्ताक्षर हुने समेत बताइएको छ ।

यसअघि अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लू नेपाल आएका थिए । उनले एमसीसीबारे महत्वपूर्ण छलफल गरेर फर्किका थिए । लूको भूमिकासँगै नेपालमा एमसीसी सदनबाट अनुमोदन भइसकेको छ ।

पछिल्लो समय नेपालमा अमेरिका र चीनकोचासो बढिरहेको छ । चीनले एमसीसी रोक्न खोजेको खुलेको थियो । चिनियाँ विदेशमन्त्रालयले एमसीसी दबाबमा पारित गराउन अमेरिकाले नेपालमा भूमिका खेलेको आरोप लगाएको थियो ।

अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लूले पनि नेपालका शिर्ष नेताहरुलाई टेलिफोन गरी एमससी पारित गर्न दबाब दिएका थिए । उनी नेपाल आएर पनि यस्तै दबाब दिएको भेटेका नेताहरुले नै खुलाएका थिए ।

नेपालमा अमेरिका र चीनको प्रतिष्पर्धासँगै अन्य शक्ति पनि सक्रिय हुन थालेका छन् । नेपालको सामरिक महत्वका कारण पनि विदेशी अधिकारीहरुको चासो बढेको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot