Logo

उम्मेदवारको खर्चको सीमा हावादारी छ, यस्तो कर्मकाण्डी आचारसंहिताको औचित्य छैनः केशव झा



काठमाडौं, २८ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले निर्वाचन आयोगले तोकेको उम्मेदवारको खर्चको सीमा हावादारी रहेको टिप्पणी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले भने, “हिजो निर्वाचन आयोगले गरेको सर्वदलीय छलफलमा हामीले उम्मेदवारले खर्च आचारसंहिताका बारेमा प्रश्न उठाएका छौं । निर्वाचन आयोगले चार वर्षअघिको खर्चको सिलिङलाई नै निरन्तरता दिएको छ । हामीले के भन्यौं भने आयोगले एउटा खर्च लेख्छ, फिल्डमा धेरै खर्च हुन्छ । तर बढी खर्च गर्ने एक जनालाई पनि कारबाही गरिँदैन । यस्तो हावादारी र कर्मकाण्डी आचारसंहिताको के औचित्य ?”
चुनावमा खर्च नै नहुने समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता उनले औंल्याए । झाले थपे, “अहिले महानगरपालिकाको मेयरले साढे ७ लाख खर्च गर्न सक्ने सीमा तोकिएको छ । जब कि चुनावमा ४ करोडसम्म खर्च गर्छन् । आयोगले जति लेख्यो, त्यति खर्च हुने होइन । तर खर्च नहुने गरी चुनाव हुनुपर्ने हो । त्यसका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता छ । त्यो आवश्यकता कांग्रेसले पनि आवश्यकता महसुस गरेको छ । माओवादीले पहिलेदेखि नै भनेको हो । एकीकृत समाजवादीले घरदैलो नगरौं, र्याली र जुलुस नगरौं, एकसाथ उम्मेदवार राखेर बहस गराऔं भनेको छ । खराबी प्रत्यक्ष निर्वाचन प्रणालीमा छ ।”
आफ्नो पार्टीले गठबन्धनको विषयमा कुनै दलसँग औपचारिक कुराकानी नभएको पनि उनले बताए । झाले भने, “अहिलेसम्म हामीसँग तीनवटा विकल्प छ, एक्लै जाने, सत्ता गठबन्धन मिलेर जाने वा एमालेसँग मिलेर जाने । एक्लै जाने तयारी त अहिले पनि छँदै छ । कांग्रेस लगायतको गठबन्धन वा एमालेसँगको गठबन्धनबारे । औपचारिक कुराकानी भएको छैन ।”
पछिल्ल्लो समय नेपालमा चीनको चासो बढ्दै गएको लोसपा नेता झाले विश्लेषण गरे । उनले भने, “चीनका विदेशमन्त्री नेपाल आउँदै छन् । पहिले पहिले चीन नेपालको विकास निर्माणमा मात्र केन्द्रित हुने गर्थ्र्यो । अहिले राजनीतिक स्पेस पनि खोजेको देखिन्छ । समग्रमा चीन चेन्ज भएको देखिन्छ । छरछिमेकमा भएको राजनीतिक घटनाक्रममा चासो राख्नु स्वाभाविकै हो । तर एमसीसीमा जुन वक्तव्यबाजी गरेको छ, त्यो शुभ संकेत होइन । चीनले नेपालमा राजनीतिक हस्तक्षेप गरेको छ वा छैन, मैले भन्दा पनि सरकारले बोल्ने कुरा हो । कूटनीतिक कुरामा व्यक्तिपिच्छे टिप्पणी गर्न सुहाउँदैन ।”
नेपालले सबै देशसँग सहयोग लिनुपर्ने बाध्यता रहेको पनि उनले बताए । झाले थपे, “अहिले हामीले लगानी गर्ने अवस्था छैन । यसमा भारत, चीन, अमेरिका सबैले सहयोग गर्नुपर्छ । विदेशी सहयोग सँगसँगै हामीले आत्मनिर्भरताका निम्ति पाइला बढाउनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot