Logo

निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्छ : झलनाथ खनाल



काठमाडौं, २८ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा पार्टीको इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाइ सम्बोधन गर्दै खनालले आगामी चूनावमा कांग्रेस र एमालेले पैसा बोकेर जाने तयारी गरेको भन्दै निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताएका हुन् ।

उनले कांग्रेसका एक समूह र एमालेले आफुलाई निर्वाचनमा एक नम्वरमा हराउने निर्णय नै गरेको समेत बताए । कांग्रेसभित्र प्रधानमन्त्री एकतावद्ध भएर नै जानुपर्ने भन्ने पक्षमा रहेको र अर्को पक्ष भने पैसा बोकेर भएपनि अरुलाई हराउने पक्षमा रहेको उनले बताए । खनालले चूनावमा पराजयको डरले आफुहरु नभाग्ने भन्दै पार्टीको नीतिका साथ जनतामाझ जाने उल्लेख गरे ।

त्यस्तै उनले जनतालाई भ्रममा पारेर नभई व्यवहारिक रुपमा नै सम्भव हुने कुरा लिएर निर्वाचनमा होमिने धारणा राखे । खनालले यही गतिमा पार्टी अघि बढे दुई तीन बर्षभित्र आफ्नो पार्टी मुलुकको पहिलो पार्टी हुने दावी पनि गरे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot