काठमाडौं, २९ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले स्थानीय तहमा माथिबाट गठबन्धन बनाएर टिकट नदिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “हामीले गठबन्धनका कुरा कसैसँग गरेका छैनौं । उपेन्द्र यादवसँग पनि सहकार्य हुन सक्ने सम्भावना छैन । केपी ओलीसँग पनि हामी गठबन्धन गर्न सक्छौं तर स्थानीय तहको चुनावमा गठबन्धन बनाएर माथिबाट टिकट दिँदैनौं । स्थानीयलाई नै जिम्मामा दिन्छौं । त्यसमा हडबडी छैन । प्रदेश र संघमा गर्न सक्छौं ।”
तपाईंहरु चुनावको तयारीमा हुनुहुन्छ कि अवरोध गर्दै हुनुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा नेता कर्णले भने, हो, “अघिल्लो स्थानीय तहको निर्वाचनमा हामीले अवरोध गरेका थियौं । त्यसैले तीन चरणमा चुनाव गर्नुपरेको थियो । अहिले हामी तयारीमा लागिरहेका छौं । राजनीतिक पार्टीले चुनाव नलड्ने हो भने गर्ने के हो ?”
सांसद समेत रहेका कर्णले महाभियोग बाध्यता भएको बताए । उनले भने, “भलै हामीले महाभियोगमा सही गरेका छैनौं । तर कानुन व्यवसायी र न्यायाधीश एकातिर, प्रधानन्यायाधीश अर्कातिर फर्केर न्यायालय चल्दैन । प्रधानन्यायाधीशले राजीनामा नदिएपछि यो बाध्यतामा आएको हो ।”
किन तलबभत्ता लिइस् भन्नु सांंसदप्रति अवमूल्यन भएको उनले बताए । उनले थपे, “हामी बाटोमा हिँडिरहेका हुन्छौं, पानी पर्छ, अब छाता किन लिएको भन्ने ? संसद् अवरोध किन भयो, कसरी हट्छ भनेर सोच्ने कि तलबभत्ता किन लिएको भन्ने ? हामीले गरेको हो त अवरोध ? अवरोध फुकाउने कसले ? त्यसको कारण के हो ? अवरोध नेपालमा मात्र हुन्छ, कि बाहिर पनि हुन्छ ? विश्वभरि नै संसद् बहिष्कार पनि हुन्छ, अवरोध पनि हुन्छ । संसद् चलिरहेको छैन भने विघटन गरौं न । होइन भने संसदलाई कार्यमूलक बनाउनेतर्फ सरकार र सभामुख लाग्नुपर्छ ।”
अर्को प्रसंगमा उनले वैवाहिक अंगीकृतले ७ वर्षपछि मात्र देखाउने नागरिकता विधेयक सच्चाउनुपर्ने औंल्याए । उनले भने, “हात्तीको देखाउने दाँत एउटा, चपाउने दाँत अर्को हुन्छ । संविधानमा लेखिएको कुरा सबैले मान्नुपर्छ । कोही पनि नेपाली नागरिकताको हकबाट वञ्चित हुनुहुन्न वैवाहिक अंगीकृतलाई सात वर्षमा नागरिकता दिने बुँदा राख्नुहुँदैन । विगतमा जे प्रचलन छ, त्यही अनुसार दिनुपर्छ । । नागरिकता भएन भने सास फेर्न गाह्रो छ ।”