काठमाडौं, २९ फागुन । प्रमुख दलका शिर्ष देखि मुनीका नेतासम्मको हेलिकोप्टरमा दौडाहा चल्न थालेको छ । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा नेताहरुको दौडाहा तिव्र भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा कमैमात्र उपत्यका बाहिर जान्छन् । तर, चुनाव नजिकिदै गर्दा उनको पनि दौडाहाको तयारी भएको छ । देउवाको दौडाहा पनि हेलिकोप्टरमै हुने बताइएको छ ।
काँग्रेस महामन्त्री गगन थापालाई भ्याइनभ्याई छ । उनी सट मिलाउन समेत नभ्याउने भएका छन् । थापा उपत्यका बाहिर जाँदा हेलिकोप्टरमा जान थालेका छन् । दैनिक धेरैभन्दा धेरै कार्यक्रम भ्याउनुपर्ने वाध्यता थापालाई छ । भाषणकलामा अगाडि रहेका गगन थापाको माग जिल्ला जिल्लामा कार्यकर्ताले गरेबाट हेलिकोप्टरमा उड्न थालेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि धेरैभन्दा धेरै कार्यक्रममा दौडिन थालेका छन् । उनी २८ फागुनमा काठमाडौं र वीरगञ्जमै कार्यक्रम भ्याउनुपर्ने दबाबमा परे । निजामती कर्मचारी संगठनको अधिवेशनमा भाषण छोट्याएर सिम्रिक एयरको हेलिकोप्टरमा वीरगञ्ज पुगे । त्यहाँ वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई एमालेमा भित्राए ।
माओवादी अध्यक्ष प्रचण्डको पनि दौडाहा बढेको छ । उनी सकेसम्म विमानमा आवतजावत गरिरहेका छन् । तर, उनलाई पनि दौडधूपको चाप बढेकाले चुनावसम्म हेलिकोप्टरको तयारीमा जोड दिइएको बुझिएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि निकै चापमा छन् । उनी काठमाडौंबाहिर बढीभन्दा बढी दौडिइरहेका छन् । भर्खर बनेको पार्टी भएकाले उनलाई सांगठनिक काममा दबाब बढिरहेको छ । माधव नेपाल पनि हेलिकोप्टरमै उपत्यका बाहिर जान थालेका छन् । उनी २८ फागुनमा धादिङको बैरेनी जाँदा नेपाल एभरेस्ट एयरबाट गएका थिए ।